फाइल तस्बिर
काठमाडौं । मुलुकको विभिन्न स्थानमा भएको सवारी छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । भोजपुर, रौतहट, सप्तरी, बारा र नवलपुरमा भएको दुर्घटनामा ६ जनाले जीवन गुमाएका हुन् ।
भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङमा टेम्पु पल्टिँदा बालिकाको मृत्यु भएको छ । को २ ह ७६८६ नम्बरको टेम्पु अनियन्त्रित सडकबाट ६० मिटर तल खस्दा हतुवागढी ५ का मिलन राईकी छोरी ८ वर्षीया छोरी गुराँसको मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ४ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनामएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा बस र कार ठोक्किँदा युवकको मृत्यु भएको छ । ग १ ख ६१०७ नम्बरको बस र बीआर ०५ एबी ८०५५ नम्बरको कार आपसमा ठोक्किँदा भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको मृत्यु भएको छ । कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार २ जना घाइते भएका छन् । चपुर अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीको खड्क नगरपालिकामा मोटरसाइकल आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ८ बिसनपुर चौकमा बा ६८ प ६८८७ नम्बर र ज।६ प ६८५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो । दुर्घटनामा सुरुङगा नगरपालिका वडा नम्बर १ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र खड्क नगरपालिका वडा नम्बर ६ बिरपुर बस्ने २८ वर्षीय अनबारुल अनसारीको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका माटरसाइकलमा सवार २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।
बाराको बारागढी गाउँपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नम्बर ५ मा ना ३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित पल्टिएको हो । दुर्घटनाका मृतकको एक पुरुषको मृत्यु भएको तर उनको अहिलेसम्म पहिचान नभएको प्रहरीले जनाएको छ ।
नवलपुरको मध्यबिन्दु नगरपालिकामा बस र जिप ठोकिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १६ स्थित सडकमा ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको बोलेरो आपसमा ठोकिएको हो । दुर्घटनाका मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।