हुमाकान्त पोखरेलगुल्मी । पछिल्लो समय बसाइँसराईले गाउँमा मानिसको सङ्ख्या घट्दै गएको छ । गाउँका अधिकाशं युवाहरु रोजगारीका लागि घरबाहिर छन् । तर तिनै युवाहरुको सक्रियतामा गाउँमा झण्डै ७५ लाखको लागतमा मन्दिर निर्माण गरिएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लास्थित अजिमिर कोतको लागि युवाहरुको सक्रियतामा ४८ लाख ६६ हजार रकम संकलन भयो । त्यसमा गाउँपालिकाले २५ लाख रकम विनियोजन गर्यो । संकलित ७३ लाख ६६ हजारबाट युवाहरुकै सक्रियतामा कोतमा मन्दिर निर्माण गर्नुका साथै अन्य भौतिक संरचना पनि निर्माण गरिएको मन्दिर निर्माण अभियान्ता राजेन्द्र घिमिरेले बताए ।
युवाहरुले शुरु गरेको उक्त अभियानमा गाउँलेले पनि साथ दिए । जसको फलस्वरुप वाग्ला अजिमिर कोतमा आकर्षक नयाँ मन्दिर निर्माण गरिएको छ ।
मन्दिरको तलपट्टि सरायँ खेल्ने ठाउँको निर्माण गरिएको छ । त्यस्तै मन्दिरमा प्रवेश गर्न तीन ठाउँबाट सिढी निर्माण गरिएको छ । रोजगारीको शिलशिलामा गाउँ वा गाउँभन्दा बाहिर रहेका युवाहरु, वाग्ला घर भई विभिन्न सरकारी कार्यालयमा काम गर्दै आएका कर्मचारी, स्थानीय लगायतको आर्थिक लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो ।
गाउँलेले पनि प्रतिघर पाचँ हजारदेखि एक लाख ७२ हजारसम्म आर्थिक सहयोग गरेका छन् । स्थानीय चिरञ्जिवी र कुन्ती घिमिरेले एक लाख ७२ हजार आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ घिमिरेले जानकारी दिए । त्यस्तै स्थानीय राम बहादुर घर्तीले एक लाख ५१ हजार, हरिप्रसाद खनालले एक लाख ११ हजार, भिमलाल घिमिरेले एक लाख १६ हजार, उमादेवी घिमिरेले एक लाख २१ हजार, नारायण घर्तीले एक लाख पाचँ हजार लगायत सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा उक्त बोल रकममध्ये ३६ लाख नगद संकलन भएको छ भने १२ लाख ६६ हजार उठ्न बाँकी छ । मन्दिरमा सहयोग रकम उपलब्ध गराउने व्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । धुर्कोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् स्थानीय मधुप्रसाद घिमिरेले युवाहरुमा आफ्नो गाउँ र संस्कृतिप्रति चासो बढ्दै गएको बताए । अर्का स्थानीय युवा बासु घिमिरेले अजिमिर कोतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उदेश्यले स्थानीयबाट रकम संकलन गरिएको बताए । मन्दिरसम्म जाने बाटो, पानी लगायतका थुप्रै काम बाँकी रहेकोले ति कामहरु पनि क्रमश पुरा गरिने बताए ।
हाल रुपन्देहीको एक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका वाग्ला निवासी चिरञ्जिवी घिमिरेले आपूmहरु कामको शिलशिलामा जुन ठाउँमा भएपनि गाउँको कला तथा सँस्कृति बचाउन लागिपर्ने बताए । ‘पछिल्लो समय गाउँमा सरायँ नाच लगायतका पुराना संस्कृतिहरु हराउदै गएका समाचारहरु केही वर्ष पहिलेदेखि आउन थालेका थिए ।’ उनले भने, ‘संस्कृति जोगाउने उद्देश्यले मन्दिर निर्माणको अभियान थालिएको हो ।’
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले राज्यले गर्ने काम युवाहरुले गरेको भन्दै प्रशंसा गरे । त्यसका साथै उनले प्रत्येक वडामा कम्तिमा एउटा आकर्षक मन्दिर बनाई पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको योजना रहेको बताए ।
अजिमिर कोतमा हरेक वर्षको दशैँमा नवमीको दिन बलि चढाउने गरिन्छ भने एकादशीको दिन सरायँ नाच हुने गर्दछ । सरायँ नाच हेर्नका लागि वाग्लाका साथसाथै जैसिथोक, वस्तु, रजस्थल, मदाने गाउँपालिकाको सिर्सेनी, भनभने, मालिका र इस्मा गाउँपालिकाका विभिन्न मानिसहरु आउने गर्दछन् ।