काठमाडौं । राजधानीबाट बाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार गैर आवासीय नेपाली संघको सम्मेलन, नेपाल भारत उर्जा बैठक र बहिर्गमित सभामुख कृष्णबहादुर महराको थुना म्याद थप लगायतका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । पत्रपत्रिकामा नेकपाका नेताहरुको विदेश भ्रमण, बढ्दो अपराधसहित राजनीतिक, आर्थिक र सामाजिक विषयका विभिन्न समाचार समेत प्रकाशित भएको छ ।
गोरखापत्र दैनिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा आर्जन गरेको पूँजी, सीप र ज्ञानलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपालीलाई आग्रह गर्नुभएको समाचार छ । राष्ट्रपति भण्डारीले सरकार आर्थिक विकासमा केन्द्रित रहेको उल्लेख गर्दे त्यसमा सहयोगी बन्न गैर आवासीय नेपाललाई आव्हान गर्नुभएकाे हाे ।
कान्तिपुर दैनिकले ‘अलराउन्डरका अप्रत्याशित निर्णय’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार नेपाली खेलकुद वृत राष्ट्रिय टोलिका कप्तान पारस खड्काले पदबाट राजिनामा दिने घोषणा गरेपछि तरंगित बनेको छ । एक दशक नेपाली क्रिकेटको ‘स्वर्णयुग’लाई नेतृत्व गरेका ३२ वर्षे अलराउन्डर पारसको यो निर्णय धेरैका लागि अप्रत्याशित बनेको छ । पारस १० वर्षको बीचमा नपाली क्रिकेटले हासिल गरेको विरासतका नायक भएको समाचारमा लेखिएको छ ।
अन्नपूर्ण पोष्टमा उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको समाचारले प्रमुख स्थान पाएकाे छ । डेढ वर्षअघि नेकपाको दुबै अध्यक्षसँग संविधान संशोधन गराउने हस्ताक्षर गराएर सरकारमा गएका समाजवादीका अध्यक्ष उपेन्द्र यादवमाथि अहिले सरकार छोड्न दबाब परेको हाे ।
नागरिक दैनिकमा तीस वर्षयताको तथ्यांकले काठमाडौं उपत्यकामा १० प्रतिशत भन्दा बढीले अपराध वृद्धि भएको तथ्यांकले देखाएको उल्लेख छ । प्रहरीको वर्गीकरण अनुसार सबैभन्दा बढी अपराधका क्रियाकलाप सामाजिक, महिला तथा बालबालिका र सवारी सम्बन्धित छन् ।
राजधानी दैनिकले नेपाल र भारतबीच वर्षायाममा बढी हुने बिजुली भारत पठाएर त्यसको सट्टामा हिउँदमा बिजुली ल्याउने गरी इनर्जी बैकिङ कार्यान्वयन गर्ने सहमतिबारे मुख्य समाचार बनाएकाे छ । भारतमा सोमबारदेखि शुरु भएको नेपाल–भारत उर्जा बैठक सचिवस्तरीय संयुक्र निर्देशक समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।