भगीरथ भण्डारी इलाम । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्घि गरेपनि दूधमा आत्मनिर्भर भनिएको इलामबाट दैनिक २० हजार लिटर मात्र दूध जिल्ला बाहिर जाने गरेको छ । इलामका आठ वटा दुग्ध चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटर दूध संकलन भई जिल्ला बाहिर पठाउने गरिएको छ ।
दुग्ध चिस्यान केन्द्रले सिजनमा ३५ हजार लिटरसम्म संकलन गर्ने गरेपनि अहिले २० हजार लिटर मात्र संकलन गरिरहेको छ । इलाम पर्यटकीय जिल्ला भएकाले पनि धेरै जसो दूध स्थानीय स्तरका डेरी र दूधका ललिपप, पनिर, कुराउनी, चिज, घ्यू, छुर्पि जस्ता परिकार बनाउन खपत हुने हुँदा धेरै दूध संकलन हुन नसकेको हो । दुग्ध विकास सस्था (डिडिसि) ले इलामको कुटिडाँडा, तिनघर, फिककल, लक्ष्मिपुर,
विव्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दुग्ध संकलन गरेर विराटनगर लैजाने गरेको दुग्द चिस्यान केन्द्र बिब्ल्याटे इलामका देवनारायण महतो बताउनुहुन्छ ।
महतोका अनुसार संकलन भएर विराटनगर पुगेको दूधमध्ये दश हजार लिटर दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने बाँकी दूध पाउडर बनाउन प्रयोग हुने गर्दछ । नेपाली दूधको छुर्पी तेस्रो मुलुकमा राम्ररी बिक्री हुन थालेपछि डिडिसिलाई दूध पाउन निकै समस्या परेको थियो । तर तेस्रो मुलुकमा डकच्युको रुपमा जाने छुर्पीको माग घटेपछि अहिले निजी उद्योगहरुले पनि डिडिसिलाई नै दूध बिक्री गर्ने गरेको कृषकको भनाइ छ ।
इलाममा वार्षिक एकलाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । इलाममा उत्पादन भएको दूध मध्ये धेरै डिडिसिमा बिक्री हुने गरेको छ भने केही प्रतिशत दूध मात्र स्थानीय स्तरमा दूधका परिकारमा खपत हुने गर्दछ । इलामका ग्रामीण भेगमा उत्पादन भएको मध्ये दुग्ध विकास सस्था (डिडिसि)मा मात्र वार्षिक ३० करोड ६६ लाखको दुग्ध पदार्थ बिक्री हुने गरेको सरकारी विवरणमा उल्लेख छ ।
इलाममा १ सय २५ वटा गाई फार्म र सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्ने गरेका छन् ।