गणेश आचार्य
दाङ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गोप्य बैठकमा छापा मारेको छ । नेपाल–भारत सीमामा पर्ने राजपुर गाउँपालिका–४ को मुग्रेटाखोलाको जंगलमा राप्ती बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बैठकबाट विप्लवका दाइसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोवन्दि रिजालका अनुसार विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज विरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता कार्यकर्ता हातहतियार तथा बिस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार प्रहरीले उनीहरुलाई सदरमुकाम घोराही ल्याएको छ । पक्राउ परेका विप्लव समुहका २१ जना नेतामा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द (वीरजङ्ग), राप्ती ब्युरो ईन्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, जिल्ला ईन्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपाल केन्दीय अध्यक्ष बविन केसी, वुद्धिजिवी सुनिल पौडेल, एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी रहेका छन् ।
यसैगरी, एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्व जनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्यहरू हितप्रसाद रोका, पोष्टमान घर्ती, दिलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा र कुलबहादुर ओली समेत पक्राउ परेका छन् ।