भगीरथ भण्डारी इलाम । केही दिनअघि मात्र दुई दिने नेपाल भ्रमण सकेर फर्किएका चिनियाँ राष्ट्रपति सी चिङनफिङले नेपाल भ्रमणका क्रममा इलामकोचिया पिउनुभयो । राष्ट्रपति सीलाई इलामको चिया पिउने वातावरण बनाउन इलाम नगरपालिकाले पहल गरेको मेयर बस्नेतले बताउनुभयो । उहाँले नेपाल भ्रमणमा आउँदा इलामको चिया पिउने वातावरण बनाउनुको कारण चिनसँग इलामको चियाको आफ्नै सम्बन्ध रहेको बताउनुभएको छ ।
यस्तो छ सम्बन्धनेपालको चीनसँग ज्यादै पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भए पनि नेपाल र तिब्बतबीच व्यापारिक तथा मौद्रिक कारण सम्बन्ध राम्रो थिएन । यो तनावपूर्ण सम्बन्धलाई सुधार गर्न नेपालका राजा प्रतापसिंह शाहको शासनकाल वि.सं. १८३२ भाद्र ७ गते (२३ अगस्ट १७७५ इ)का दिन नेपाल र तिब्बतबीच खासामा सन्धि भयो । खासा सन्धि भए पनि यसले नेपाल तिब्बतबीच रहेको समस्या समाधान गर्न सकेन । फलस्वरूप वि.सं. १८४५ असार १० गते (जुन १७८८ इ) देखि प्रथम नेपाल–तिब्बत युद्ध शुरु भयो । यही युद्धको सन्दर्भमा तिब्बतले चीनसँग सैनिक सहयोग माग गर्यो ।
चिनियाँ सम्राट चेन लुङ्गले तिब्बतको सहयोगका लागि सेनापति चान्च्युको नेतृत्वमा एउटा ठूलो फौज ल्हासा पठाए । चिनियाँ फौजले ल्हासामा आएर अध्ययन गर्दा तिब्बतको नै गल्ती भएको निष्कर्ष निकाली नेपालको माग स्वीकार गर्न तिब्बतलाई दबाब दियो, फलस्वरुप सेनापति चान्च्युको मध्यस्थतामा वार्ता भई विसं. १८४६ जेष्ठ (२ जुन १७८९ इ)मा केरुङ्ग सन्धि भयो । तर पनि नेपाल–तिब्बतबीच भएको केरुङ्ग सन्धिले लामो समयसम्म शान्ति कायम गर्न सकेन । यसैकारण विसं. १८४८ (१७९१ इ) मा पुनः नेपाल–तिब्बतबीच दोस्रो युद्ध शुरु भयो ।
युद्धमा आफ्नाे स्थिति कमजोर भएपछि तिब्बतले चीन सम्राटसँग सैनिक सहयोगका लागि अपिल गर्यो । चिनियाँ सम्राटले सेनापति फु काङ्गआन, बडाहाकिम अहुई, सेनापति छङ्गतल, सेनापति टुङ्गथाङ्गको नेतृत्वमा ठूलो सेना तिब्बतको सहयोगका लागि पठायो । फलस्वरुप नेपाल चीनबीच युद्ध शुरु भयो । विसं. १८४८ भाद्र (सेप्टेम्बर १७९१ इ) मा नेपाल र चीनबीच भएको झुङ्गा र सुनागुम्वाको लडाइमा नेपालको हार भयो । धेरै लामो लडाईंपछि नेपाल र चीनबीच विसं. १८४९ भाद्र ६ गते (अगस्ट १७९२ इ)का दिन नेपालको वेत्रावतीमा सन्धि भयो । यस सन्धिका महत्वपूर्ण बुँदाहरू यसप्रकार रहेका छन् ।
(१) भविष्यमा काठमाडौं र ल्हासा सरकारबीचको झगडा समाधान गर्न चिनियाँ अम्वालाई बुझाउने ।(२) नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवर्षीय मिसन चीन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने ।(३) नेपाल र तिब्बतबीचको सीमा चिनियाँ अधिकारीले निर्धारण गर्ने ।(४) नेपालमाथि विदेशीले आक्रमण गरेमा चीनले नेपाललाई सहायता गर्ने ।(५) हातहतियार लिएका सेनाबाहेक अन्य नेपालीहरुले तिब्बत र चीनका विभिन्न स्थानहरूमा यात्रा गर्न, व्यापार र उद्योग खोल्ने पाउनेछन् ।
वेत्रावती सन्धिले नेपाल, तिब्बत र चीनसँगको सम्बन्ध ६० वर्षसम्म मजबुत बनायो । तर तिब्बतले अनेक बहाना बनाउने र चीन सम्राटलाई पठाएको पञ्चवर्षीय उपहार टोलीलाई गरिएको कुटपिट र दुर्व्यवहार कारण नेपाल–तिब्बतबीच विसं. १९११ फाल्गुण (मार्च १८५५ ई.) मा तेस्रो नेपाल–तिब्बत युद्धको घोषणा भयो । लामो युद्धपछि पुनः शान्तिवार्ता शुरु भयो र विसं. १९१२ चैत्र (२४ मार्च १८५६ इ) मा थापाथलीमा नेपाल र तिब्बतबीच सन्धि भयो । यो सन्धिमा पनि ‘नेपाल र तिब्बत दुवैले चिनियाँ बादशाहलाई आदर गर्ने’ भन्ने वाक्याँश सन्धिको धारामा उल्लेख गरिएको छ ।
इलाममा चियायस प्रकार वेत्रावतीमा भएको सन्धिले नेपाल र चीनबीच मित्रताको जग स्थापना र बलियो बनाएको छ । वि.सं. १८४९ भाद्र ६ गते (अगस्ट १७९२ इ) मा भएको वेत्रावती सन्धिबमोजिम चिनियाँ सम्राटले नेपालका राजालाई उपहार फिर्ता पठाउने मित्रवत शिलशिलाको शुरुवात भएको छ । यही क्रममा चीनमा उत्पत्ति भएको चिया चिनियाँ सम्राटको उपहारको रूपमा नेपाल भित्रिएको हो।
नेपालका श्री ३ महाराज जङ्गबहादुर राणाले थापाथलीको सन्धिपछि पनि उपहार कार्यक्रमलाई निरन्तर अगाडि बढाउने क्रममा हाल इलाम नगरपालिका–७ (साविक इलाम नपा–२) स्थित हालको इलाम चिया बगानमा नेपालमा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाई विसं. १९२२ सालदेखि चिया खेती भित्र्याइएको हो । यही क्रममा जङ्गबहादुर राणाले आफ्नो छोरीज्वाइँ गजराजसिंह थापालाई इलामको बडाहाकिम बनाएर पठाएपछि उनले इलाम बगान र विसं. १९३५ मा चिया कारखाना स्थापना गरेका थिए ।
करिब १ सय ५५ वर्ष पुरानो चिया बगान अहिले पनि जीवित रहेको छ र यसले अझै चिया उत्पादन दिइरहेको छ । चीनमा समेत यस प्रजातिको चिया विलुप्त भएको अवस्थामा इलाममा यो प्रजातिको चिया अझै जीवित रहेको छ । तसर्थ यसको अध्ययन अनुसन्धान र संरक्षणको खाँचो रहेको छ।