भगीरथ भण्डारी इलाम । जिल्लामा किवी खेती फस्टाएको भएपनी गुणस्तरीय उत्पादन न्युन देखिएको छ । एक बोटमा करिब दुई सय किलोसम्म उत्पादन हुने किवी कलिलैमा टिपेर बजारमा पुर्याउन थालिएको छ । इलाममा किवी फलको व्यवसायिकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किवी जोन संचालनमा रहेको छ ।
पाँच सय हेक्टर क्षेत्रमा फैलिएको किवी खेतीबाट बार्षिक पाँच सय टन उत्पादन हुने गरेको छ । कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयुक्त मानिने किवी भदौको पहिलो हप्ताबाटै बजारमा भेटिएपछि गुणस्तर जाँच गरिएको थियो । गुणस्तर जाँचका क्रममा बजारमा भेटिएका किवीमा पाँच प्रतिशत मात्रै गुलियोपना पाइएकाले बजारको किवी गुणस्तरहीन रहेको पुष्टि भएको हो ।
विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ । यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य किवी मानिने किवी विज्ञहरुको भनाई छ ।
पाकेको किवीमा २० प्रतिशतसम्म गुलियोपना भेटिने किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले बताउनुभयो । उहाँका अनुसार ‘समुद्री सतहबाट १२ सयदेखि साढे १५ सय मिटरसम्मको जमिनमा फलेका किवीको परीक्षण गरिएको हो । टिप्न योग्य नभई किवी टिप्न थालेपछि किवी फल पकाउन केमिकलसमेत प्रयोग हुनसक्ने देखिएकाले सिजन सुरु नभई किसानलाई किवी नटिप्न आग्रह गरिएको अध्यक्ष राईको भनाई छ । इलाम किवी खेतीका लागि योग्य जिल्ला भएकाले ‘किवी जोन कार्यक्रम’ सञ्चालन भैरहेको छ । जिल्लाका सन्दकपुर गाउँपालिकाका ६ ओटा वडा र इलामको १, २, ३, र ४ नम्बर वडालाई किवी जोन क्षेत्र घोषणा गरिएको छ ।किसान र व्यापारीले कलिलैै किवी बजारमा पुर्याउन थालेपछि पहिलो चरणको जाँच गरिएको छ । अब कार्तिक दोस्रो साता पुनः जाँच गरिने बताइएको छ । दोस्रो चरणमा भने किवी खेती गरिरहेका सम्पूर्ण कृषकलाई भेला गरेर कुन समयमा किवी टिप्ने, कसरी टिप्ने, किवीको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेबारेमा समेत ज्ञान दिइने बताइएको छ । इलामको किवी इलाम बजार, राँके, झापाको बिर्तामोड देखि काठमाडाैं सम्म जाने गरेको छ ।जिल्लाका तीन हजार किसानले इलाममा किवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कमा उल्लेख छ । वर्षमा तीन सय मेट्रिक टन किवी उत्पादन हुने गरेको पाइएको छ । अहिले किवी प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
इलामसहित सोलुखुम्बु र दोलखामासमेत ‘किवी जोन कार्यक्रम’ लागू भएको छ । यी दुई जिल्लामा भने हालसम्म किवी टिप्न सुरु नगरिएको समितिले जनाएको छ ।