भगीरथ भण्डारी इलाम । ग्रामीण क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा परम्परागत रुपमा वर्षेनी लाग्दै आएको कागे मेलाको अवसरमा यही कात्तिक २ गतेदेखि हुने कागे गोल्डकपमा नेपाल र भारतका गरी २४ वटा फुटबल समूहले सहभागिता जनाउने भएका छन् । गोल्डकप आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार गोल्डकप कात्तिक २ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।
गोल्डकपमा भारतको बाँसबोटे राइजिङ स्टार टीमले पनि भाग लिएको हो । त्यो बाहेक अधिकाँश टीम इलाम जिल्लाभित्रका रहेका छन् भने एउटा चम्पापोखरी नामक टीमले मोरङबाट भाग लिएको छ । गोल्डकपमा सन्दकपुर–५ जमुनाबाट आठ वटा टीमले भाग लिएका छन् । त्यस्तै माइजोगमाई–६ प्याङबाट दुई, सन्दकपुर–४ माबुबाट ३, सन्दकपुर ३ सुलुबुङबाट २, सन्दकपुर २ माइमझुवाबाट १, चुलाचुली गापाबाट १, देउमाई नगरपालिकाबाट १, इलाम नगरपालिकाको–४ जस्बीरेबाट १, वडा नम्बर ५ बरबोटेबाट १, वडा नम्बर–६ गडिथुम्काबाट १, वडा नम्बर ७ इलाम बजारबाट १ वटा टीमले भाग लिएका छन् ।
जमुनाका हाँगेथाम एफसी, किनास सेभेन, सुनाखरी ए, जेएफसी, सुनाखरी बी, रेडपाण्डा एफसी, योङ ब्वाइज र झुल्केघाम क्लबले खेल खेल्ने भएका हुन् । प्याङबाट चामुटार एफसी र प्याङ एफसी, माबुबाट गाउँले ब्वाइज, मावु ७ र वाइटरोज, सुलुबुङबाट देउराली स्पोर्टिङ क्लब र टारी एफसी तथा माईमझुवाबाट छिन्तापु स्पोर्टिङ क्लबले भाग लिएका हुन् ।
चुलाचुलीबाट चुलाचुली एफसी, देउमाईबाट शान्तिडाँडा एफसी, जस्वीरेबाट हेलो जस्वीरे, बरबोटेबाट हेलिबोध फुटबल क्लब, गडिथुम्काबाट गडिथुम्का एफसी र इलाम बजारबाट युथ ११ ले भाग लिएका हुन् । कात्तिक १० गते फाइनल खेल हुने गोल्डकपको प्रथम पुरस्कार एक लाख दुई सय २२ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र रहेको छ । दोस्रो पुरस्कार ५० हजार नगद रहेको छ ।
गोल्डकप कागे मेलास्थल सन्दकपुर–५ घुम्तीडाँडामा सम्पन्न हुने जनाइएको छ ।