सुखिलाल चौधरीउदयपुर । रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बरबहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेशिन हस्तान्तरण गरेको छ ।
अक्सिजनको अभावमा कैयौं बिरामीको अकालमै मृत्यु हुनेदेखि बिरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. साबित्री रायमाझीका छोराहरु अम्बरबहादुर रायामाझी, गोविन्द रायामाझी र दिपक रायामाझीले गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्कालाई मेशिन हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्षलाई हस्तारण गरिएको मेशिन तत्कालै रौतामाई गाउँपालिका–७ का वडाध्यक्ष उत्तरकुमार मगरलाई हस्तान्तरण गरेको थियो । उक्त मेशिनको बजार मूल्य एकलाख बढी रहेको जनाइएको छ । प्रमुख सल्लाहकार एवं समाजसेवी रायमाझीको स्व. आमा साबित्रा रायमाझी दमको रोगी हुनुहुन्थ्यो । आमाका लागि खरिद गरिएको उक्त मेशिन एक हप्ता पनि प्रयोग हुन नपाएपछि गाउँका अन्य धेरै वृद्ध आमाबुवालाई सेवा, सुविधा पुग्छ भन्ने हेतुले पालिकालाई प्रदान गरेको रायमाझीले बताउनुभयाे ।
दमका बिरामीका लागि सिलिण्डरको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्थामा आधुनिक अक्सिजन मेशिन अझ उपयुक्त हुने भएको छ । सिलिण्डरमा अक्सिजन भरिराख्नु पर्ने र छोटो अवधिमा मात्र पुग्नेमा उक्त आधुनिक मेशिनमा पर्याप्त अक्सिजन हुने र लामो समयसम्म पुग्ने जनाइएको छ ।
स्वास्थ्य चौकीमा रौतामाई गाउँपालिका लगायत उदयपुरगढी गाउँपालिका र त्रियुगा नगरपालिकाका जनताले समेत मेशिनबाट अक्सिजनको सेवा सुविधा लिन पाउने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । सामाजिक सेवा र सहयोगी भावले अक्सिजन मेशिन प्रदान गर्ने रायमाझी र उहाँको परिवारलाई पालिका अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गर्दै यस्तो कार्य अरुका लागि पनि उदाहरणीय हुने बताउनुभयो ।
स्थानीय सरकारको तर्फबाट पालिकाबासीको स्वास्थ्य क्षेत्रमा सकेसम्मको पहल, प्रयासका कामहरु गर्दै आएको अवस्थामा नागरिकको तर्फबाट पनि प्राप्त यस किसिमको सहयोगले ठूलो टेवा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो ।
अक्सिजन मेशिन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष उत्तरकुमार मगरको अध्यक्ष तथा प्रमुख अतिथि रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का र विशेष अतिथिमा प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई र रौतामाई गापाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायामाझी रहेका थिए । कार्यक्रममा समाजसेवी भरतबहादुर थापा, मावि मुर्कुचीका प्रधानाध्यापक खड्ग थापा, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।