शम्भु दाहाल झापा । इलामको रोङ–४ हलुडेकी माया तामाङको घर पहिरोको डिलमै छ । उनले पहिरोमै घर बनाएकी हाेइनन् । ३ वर्ष अघिदेखि शुरु भएको याे पहिरो यस साल घरको बलेनीसम्मै आयो । रोङ–२ बरफल्याका मनोज दाहालको धन फल्ने खेत पहिरोलेबगायो । रोङ–६ रम्याङका उमेश राईको २०७४ को पहिरोले जग्गामात्र लिएन बसाइँ नै सार्यो ।
यि त केही उदारण मात्र हुन् । चुरे क्षेत्रका बासिन्दालाई हरेक वर्ष बाढी, पहिरो र भूक्षयको डरले निद्रा आउन छाेडेको छ ।
![](https://45.77.241.73/wp-content/uploads/2019/10/chure-11.jpg)
प्रदेश नम्बर १ को इलाम जिल्लाको ३८ हजार ९ सय ८२ दशमलव दुई शुन्य हेक्टर जमिन चुरे क्षेत्रमा पर्ने तथ्याङ्कले देखाएको छ । यसको करिब आधा भूभाग रोङ गाउँपालिकाले ओगटेको छ । साविकका ४ गाविस शान्तिपुर, कोल्बुङ, इरौटार र जिर्मले मिलेर बनेको गाउँपालिकाको १५ हजार ५ सय ६ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ४२ दशमलव दुई हेक्टर जमिन चुरे क्षेत्रमा रहेको गाउँपालिकाका अध्यक्ष शमेर राईले बताए । यही संवेदनशील भूखण्डमा बस्दै आएका रोङबासीले लामो समयदेखि विभिन्न प्राकृतिक विपत्ति बेहोर्दै आएका छन् ।
![](https://45.77.241.73/wp-content/uploads/2019/10/chure-22.jpg)
पूर्वको मेची नदी देखी रोङ गाउँपालिकाको पश्चिमी सीमाना टाङटिङसम्म खोलाले वर्षाैँदेखि कटान गरिरहेको स्थानीय मनोज दाहालले बताए । रोङ–१ का स्थानीय ७८ वर्षीय हिरालाल अधिकारी भन्छन्- ‘कसैलाई पहिरोले घरै लगिदेला भनेर त कसैलाई जमिन भासिएर बस्ती पुरिने डर छ भने वर्षैपिच्छे उर्लिएर आउने खहरे खोलाको पीडा त भनिसाध्य छैन ।’
बाढी, पहिरो, भूक्षय, पिउने पानीको मुहान अभाव, खेतीबाली र वनस्पतिको आकस्मिक रुपमा अस्तित्व समाप्ति, तापक्रम वृद्धिलगायतका विभिन्न समस्या इलामको रोङ गाउँपालिका र जोडिएको झापाको बुद्धशान्ति गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाकाे चुरे क्षेत्रमा बस्दै आएका स्थानीयले भोग्दै आएको समस्या हो ।
वातावरणीय मूल्यांकन र परीक्षण विकास निर्माण बिना, नदीको चरम दोहन, अव्यवस्थित बसोबास, माटो पकाउने किसिमको विषादिको अधिक प्रयोग, जंगल फडानीका कारण चुरे दिनानुदिन जिर्ण बन्दै गएको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङको भनाइ छ ।
रोङ गाउँपालिका -१ को बडहरेबारीमा पहिरो बढ्दै छ । वर भञ्याङको तल्लो भेग, कागुने, बडहर, जुरे र तिल्लारे पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष बुद्धिबहादुर ढकालले बताए । कागुने हरेक साल भासिदै छ । खोलाको ढुङ्गा टिपेर, काठको कारोबार गरेर हातमुख जोड्नु पर्ने स्थानीयको बाध्यात्मक अवस्थाका कारण चुरे दिनानुदिन जोखिमयुक्त बन्दै गएको प्रवक्ता तामाङ बताउँछन् ।
वन संरक्षणका निम्ति समुदाय निकै सशक्त देखिए पनि चुरेको प्रसंगमा असफल नै देखिएको स्थानीयले बताए । बगैँचा, बरफल्याङको तल्लो क्षेत्र, असुरे, कुवा पानी दुधेलगायतका गाउँ जोखिममा परेको वडा नम्बर -२ का अध्यक्ष टेकबहादुर तामाङले बताए । रोङको वडा नम्बर -४ बाहुनी खर्क हरेक वर्ष भासिने गरेको छ । प्युरेको पहिरोले ५० घर र वडा नम्बर ६ रम्याङको पहिरोले १० घर विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष राईले बताए ।
प्राकृतिक रुपले मूल्यवान सम्पदा अथाह रहेको चुरे क्षेत्रमा सम्पदा चोरी निकासी तथा जथाभावी फँडानी, अनियन्त्रित बसोबास र मूल्यवान काठको जथाभावी कटानीका कारण चुरे विनाश तीव्र रुपले हुन थालेपछि राज्यले संरक्षणका निम्ति अलग्गै कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याएकाे भए पनि यसले रोङवासीलाई छुन नसकेको अध्यक्ष राईको भनाइ छ ।
रोङ गाउँपालिकाको ६ वटा वडामध्ये प्रत्येक वडाको दक्षिणी भाग संवेदनशील चुरे क्षेत्रमा पर्छ । टाङटिङ, बिरिङ, टिमाइ, निन्दा र मेची जस्ता ठूलासाना गरी १० वटा उत्तरबाट दक्षिण बगेका नदी छन् । दर्जनौं खहरे छन् । स्थानीय बिरिङ, टिमाइ, निन्दा र मेची नदीको कटानका साथै ६ वटै वडामा रहेको बस्ती र खेतीयोग्य जमीन नै जोखिममा पार्ने ठूला–ठूला पहिरो गाउँपालिकाकाको मुख्य प्रकृतिक समस्या बनेको राईले बताए ।
चुरे संरक्षणका नाममा राज्यले अर्बौं लगानी गरेपनि रोङ गाउँपालिकामा एक रुपैयाँ आएको छैन । चुरे क्षेत्रका बासिन्दा चुरेमै निर्भर रहनु पर्ने बाध्यता पनि छ । तराईमा बाँध बाँधेर मात्र चुरेको समस्या हल नहुने अध्यक्ष राईको तर्क छ । राई थप्छन्, ‘समस्या जहाँ छ त्यहाँ राज्यले लगानी गर्नु पर्छ ।’
वनजंगल, खोलानाला, खानी, खनिज तथा प्राकृतिक स्रोतसाधन मानव जीवनसँग अभिन्न रुपमा जोडिएको छ । वनजंगल, पानी, प्राकृतिक तथा खनिज स्रोतसाधन जस्ता वस्तुको समुचित उपभोग, वितरण र सुरक्षामा ध्यान दिएर गाउँपालिका अगाडि बढ्ने र चुरेलाई पहिलेकै रुपमा फर्काउने तयारी रहेको अध्यक्ष राईले बताए । उनले भने-‘वनजंगल, पानीका मूल, जंगली जनावर, प्राकृतिक तथा खनिज स्रोतसाधन, प्राकृतिक सम्पदा, ढुंगा, गिट्टी, रोडा, बालुवा, वन पैदावर सुरक्षा, संरक्षण र वैज्ञानिक तवरले उत्खनन् र उपभोग गर्नु पर्दछ ।’
के हो चुरे पहाड पूर्वमा भारतको ब्रम्हपुत्र नदीदेखि पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भूपरिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ । करिब चार करोड वर्ष पहिले हिमालयकाे उत्पत्ति क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड शृंखला हो ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लामा फैलिएको र कुल भूभागको १२ दशमलव सात /आठ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेकाे छ ।