सुखिलाल चौधरीउदयपुर । गत शुक्रबार राति आमा छोरीको घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । त्रियुगा नगरपालिका–९ राजाबासकी आमा २८ वर्षीय शारदाकुमारी चौधरी र छोरी ६ वर्षीय रचना कुमारी चौधरीलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
हत्यामा संलग्न लहान नगरपालिका–२ मटरुवा घर भई हाल त्रियुगा नगरपालिका–३ स्थित मोतिगडामा मिठाई पसल संचालन गर्ने वर्ष ४० का रामहरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । अभियुक्तले शुक्रबार साँझ अन्दाजी ७ बजेको समयमा घाँटीमा सलले कसी घटना घटाएको र पछि मृतकको घरको भर्याङ मुनी घाँटी रेटी हत्या गरेको अभियुक्तले स्वीकार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा अभियुक्तले पहिले आमालाई र पछि छोरीलाई पालैपालाे घाँटीमा सलले कसी मारेको र मरेपछि अभियुक्तले धारिलो हतियार प्रहार गरेको एसपी मगरले जानकारी दिए ।
मृतकको घरमा आउजाउ गरिरहने साहमाथि शंका गरी अनुसन्धान गर्दा मृतक महिलाको कानबाट लुछिएको सुनको गहना २ वटा बटारेको (बेरुवा) रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट (मंगलसुत्र) साहको कोठामा छापा मार्दा फेला परेको, मृतक महिलाले प्रयोग गर्ने चारवटा मध्ये तीनवटा मोवाइल सीम साहकै नाममा रहेको र विवाह गर्ने गरी लामो समय महिलासँग प्रेम गरेपनि असफल भएपछि हत्या गरेको वयानसमेतलाई आधारमानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको एसपी मगरले बताउनुभयो ।
साहले योजनाबद्ध ढंगले घटना घटाएको अनुसन्धानले देखाएको छ । श्रीमती नहुने भन्ने भएपछि मानसिकरुपमा विक्षिप्त भएका साहले दशैँ अघिदेखि नै हत्याको योजना बनाएको र आमाछोरी दुईजना मात्र घरमा भएको मौकामा घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ ।
गत २४ गते शुक्रबार राति माइती पक्षले मृतकको मोबाइलमा फोन गरेपनि फोन नउठेपछि आफन्तलाई उनको घर पठाएको थियो । आफन्त मृतकको घरमा आई हेर्दा बाहिरबाट चुकुल लागेको देखेपछि चुकुल खोलेर घरभित्र पस्दा आमा छोरीको घाँटी रेटी हत्या भएको देखेपछि छरछिमेक हुँदै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको प्रकृतिमुचुल्का उठाउनुका साथै गहिरो अन्सन्धान थालेको ६ दिनमै अपराधी पत्ता लगाएको हो । मृतकसंग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र संकास्पद करिब दुईसय व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी निश्कर्षमा पुगेको जनाएको छ ।
प्रहरीले धरानबाट तालिम प्राप्त लैला नामक कुकुर झिकाएर अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा मगाएको तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न नसकेर त्यसै फर्किएपनि हत्यारा पत्ता लगाउन उदयपुर प्रहरी सफल भएको हो ।
खेतको बीचमा रहेको घरमा चौधरी आमाछोरी मात्रै बस्दै आएका थिए । शारदाका श्रीमान सिताराम चौधरी रोजगारको सिलसिलामा २ वर्षदेखि मलेसियामा रहेको थियो । उनी गत मंगलबार नेपाल आई शव बुझेर दाहसंस्कार गरिसकेको छ । मृतकका श्रीमान सिताराम चौधरीले घटनाको निश्पक्ष ढंगले अनुसन्धान हुनु पर्ने र घटनामा अन्य व्यक्ति पनि हुन सक्ने आशंका गरेको छ । उनले घरबाट पैसा र गरगहना समेत गायव भएको बताए । मृतक र अभियुक्त बीचको सम्बन्ध विगत तीन वर्षदेखि रहेको अनुसन्धानबाट खुल्न आएको छ ।