प्रकाश न्यौपानेभैरहवा । ओमसतिया गाउँपालिका–५, पट्खौलीका ४२ वर्षीया महेन्द्रप्रसाद कुर्मीको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।भारत उत्तर प्रदेश गोरखपुर जिल्ला कम्पियरगञ्ज, मछरी गाउँका ४० वर्षीय मनिष हरिजन (चमार) लाई पक्राउ गरिएको हो ।
बुधबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट हरिजनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेमकुमार थापाले जानकारी दिए । पक्राउ परेका हरिजनलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
‘घटनामा संलग्न मुख्य सुटर नै हरिजन हुन् । हामीलाई भारतीय नागरिक भएकाले अनुसन्धान गर्न लामो समय लाग्यो । अन्ततः एक जना भए पनि पक्राउ गर्न सफल भयौं’ थापाले भने । लु९प ८२३५ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदैगर्दा कुर्मीको रोहिणी गाउँपालिका–३ स्थित रोहिणी खोला नजिक बैकुण्ठपुर, हुलाकी सडकखण्डमा भदौ २९ गते गोली हानी हत्या गरिएकोे थियो । भैरहवास्थित हिमालय बैंकबाट पाँच लाख रुपैयाँ निकालेर श्रीमती र छोरासहित घरतर्फ जाँदै गर्दा हरिजनसहित मोटरसाइकलमा गएका दुई जनाको समूहले कुर्मीको हत्या गरी रुपैयाँ लुटेका थिए ।
थापाले भने, ‘घटनामा ३ जना संलग्न भए पनि मुख्य सुटरमात्रै पक्राउ गर्न सफल भएका छौं । अन्य दुई जनाको खोजी भइरहेको छ । भारततर्फ नै लुकीछिपी बसेकाले पक्राउ गर्न केही कठिनाई परेको छ । यद्यपि हामीले भारतीय प्रहरीसँग समन्वय गरेर एउटा विशेष टोली नै खटाएका छौं । यति नै समयमा पक्राउ गर्छौ भन्न नसकिए तापनि उनीहरु पनि कानूनी दायरामा आउँछन्’ ।
प्रहरीले फरार दुई जनाको नाम भने गोप्य राखेको छ । फरार दुबैजना भारतीय नागरिक भएको एसपी थापाको भनाई छ । हरिजनलाई युपी ५३ डीबी ९९८३ नम्बरको कालो पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हरिजन समूहले कुर्मीलाई हत्या गर्ने उद्देश्यले पिछा नगरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुट्नका लागि पिछा गरेपनि पैसा बोकेको झोला माग्दा नदिँदा तर्साउन हानेको गोली कुर्मीको मुटुमा लाग्दा मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘उक्त समूहले नेपालका विभिन्न बैंकहरुमा प्रवेश गर्ने अनि कसले धैरै पैसा निकाल्छ र कुन सोझो मानिस छ भन्ने विश्लेषण गरेर पैसा लुट्ने योजना बनाउने गरेको देखिन्छ ।’
प्रहरीका अनुसार कुर्मीको हत्या भएको दिन श्रीमती र बच्चा पनि साथमै भएको र सबैभन्दा बढी पैसा कुर्मीले बोकेर जान लागेको पत्ता लागेपछि उनीहरुले पिछा गर्दै गए । पटक–पटक पैसा बोकेको झोला माग्दा नदिएपछि तर्साउन हानेको गोली कुर्मीलाई गागेकोे र हत्या भएको अनुसन्धानमा देखिन्छ ।’
कुर्मी हत्याका दिन दुईवटा मोटरसाइकलमा आएका हरिजनसहितको समूहले भैरहवास्थित सानिमा बैंक र हिमालयन बैंकमा पैसा निकाल्न आएका नागरिकको समेत निगरानी गरेको प्रहरी बताउँछ । ‘उनीहरुले दुईवटा बैंकमा पैसा निकाल्न आएका नागरिकको निगरानी गरेको देखिन्छ । निगरानीकै क्रममा कुर्मीलाई लुटपाट गर्न सजिलो भएपछि उनीहरुले हत्या गरी लुटेका हुन्’, एसपी थापाले भने ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट गठित दुईवटा अनुसन्धान टोलीको लामो समयको प्रयासपछि हरिजनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न हरिजन समूहले भैरहवास्थित एक पसलबाट भारतीय एक नागरिकको आधार कार्ड देखाएर एनसेलको सिमकार्ड समेत कुर्मी हत्याका दिन लिएको अनुसन्धानमा खुलेको छ ।
हरिजन समूहले भारतमा पनि विभिन्न लुटपाटका घटना गर्दै आएको थिए । ‘उनीहरुले नेपालमा मात्रै लुटपाट र हत्या हिंसा गरेका छैनन् । हरिजन समूहको विगतको पृष्ठभूमी नै लुटपाटमा संलग्न देखिन्छ । भारतमा पनि बैंकहरुमा पैसा निकालेर घरतर्फ जाँदै गरेका धेरै नागरिकलाई उनीहरुले लुटेका छन् ।’ प्रहरीले सीसीटीभी फुटेज र करिब २० हजार मोबाइल नम्बरको विश्लेषण पश्चात् सुटरलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।