शम्भु दाहाल झापा । कुनै समय धान मकै रोपेर ३ महिना खाने अन्न समेत जोहो गर्न हम्मेहम्मे पर्ने चुरे क्षेत्रका बासिन्दा अहिले बहुतले खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
झापाको मेचिनगर नगपालिका र इलामको रोङ गाउँपालिकाको सीमा क्षेत्रका बासिन्दाले एउटै जग्गामा सुपारी, अलैँची र केरा लगाएर राम्रो आम्दानी गरिरहेका छन् । चिसोमा हुने अलैँची र गर्मीमा हुने सुपारी एउटैबारीमा फलेपछि कृषक पनि दंग छन् । केही वर्ष अगाडिसम्म रोजिरोटीका लागि ज्याला मज्दुरी गर्न भारतका विभिन्न शहर पुग्ने यो क्षेत्रका युवा अहिले आफ्नैबारीमा अलैँची, सुपारी र केरा रोप्न व्यस्त देखिछन् ।
६१ रोपनीमा केरा र अलैँची लगाएकी रोङ–५ इलामकी सोमकुमारी राईको दैनिकी मात्र चलेको छैन, वर्षेनी लाखौँ रुपौयाँ आम्दानी गरिरहेकी छिन् । सोममायाले भनिन्, ‘नानी पढाउने, औषधी उपचार गर्ने सबै खर्च केरा बेचेर नै चलेको छ, यसपालिबाट आम्दानी दिन थाले पनि अलैँची आशालाग्दो भएको छ ।’
रोङ–५ भालुखोप क्षेत्रका अधिकांश कृषकका पछिल्लो रोजाई केरा, सुपारी र अलैँची भएको छ । यो क्षेत्रमा मात्र ४० बिगाह बढी क्षेत्रमा बहुतले खेती गरिएको स्थानीय कर्णबहादुर लेप्चाले बताए । विकासमा पछि परेको भए पनि यस क्षेत्रमा पानीको सुविधा र र मलिलो माटो भएकाले बाली फस्टाउने गरेको कर्णबहादुर लेप्चाले बताए ।
हात्ती प्रवाहित क्षेत्रको रुपमा रहेको मेचीनगर नगरपालिकाको बाहुनडाँगीका कृषकले समेत सुपारी र अलैँची खेतमा लगाएपछि राम्रो आम्दानी लिन थालेको बताए । हात्तीले केरा, धान, मकै नष्ट गरे पनि सुपारी र अलैँची नखाने भएकाले कृषकको रोजाईमा परेको मेचिनगरका कृषक खेमराज खतिवडाले बताए ।
पछिल्लो समय रोजगारीका लागि भन्दै इलाम र झापको सिमावर्ती चुरे क्षेत्रका बासिन्दा बसाईं सरेर अन्यत्र गहिरहेका छन् । कृषकले यसै क्षेत्रमा माटो सुहाउँदोे बहुतले खेती गरेर राम्रो आम्दानी गर्न थालेपछि बसाईसराई रोकिने स्थानीयको बुझाई छ ।