काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपाल भ्रमण वर्ष–२०२० मा विदेशी साथि नेपाल भ्रमणमा ल्याउने व्यक्ति वा संस्थालाई सरकारमार्फत सम्मान गराउन पहल गर्ने सहमति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच १७ बुँदे सम्झौंता भएको छ । सम्झौतामा सबैभन्दा बढी विदेशीलाई नेपाल पठाउने व्यक्ति वा संघ, संस्थालाई नेपाल सरकारले सम्मान गर्ने उल्लेख छ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ ।
भ्रमण वर्ष नजिकीहरेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग सम्झौता गरेको हो । सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठी लगायतका कार्यक्रम भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीलाई विदा मनाउन नेपाल जाउँ अभियान संचालन गर्ने सम्झौंतामा भनिएको छ ।
कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन उहाँले गैर आवासीय नेपालीलाई पटकपटक आग्रह गर्नु भयो । राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार अभियानलाई विश्वभर संचालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोगको लागि एनआरएनएको ध्यानाकर्षण गराउनु भयो ।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि आरआरएनएको नयाँ नेतृत्वले प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दूतावासमा ‘भ्रमण वर्ष प्रवद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।