भगीरथ भण्डारी इलाम । भूकम्प प्रतिरोधी तथा कम लागतमा निर्माण हुने जस्ता विशेषता भएको यो इँटा सूर्योदय नगरपालिका–१२ निवासी युवा प्रमोद सापकोटाले इन्टरलकिङ इँटा उत्पादन गर्न थालेका छन् ।
प्रमोदले आफ्नै नाममा विन्ध्यावासिनी इँटाको ब्रिक इण्डस्ट्रिज नामक फर्म दर्ता गरेर दुई महिना अघिदेखि यो इँटा उत्पादन गर्न थालेका हुन् । आइतबारे र तीनघरेको बीच भागमा पर्ने मेची राजमार्ग नजिकै रहेको आफ्नै जग्गामा इँटा कारखाना थालेका प्रमोदले यसको बिक्री वितरणपनि शुरु गरिसकेका छन् ।
इन्टरलकिङ इँटा अन्य होलो ब्लक जस्तै सिमेन्ट, बालुवा, क्रसरको धुलो र ८ एमएमभन्दा मसिनो रोडाबाट बनाइन्छ । तर अन्य इँटा र ब्लकमा नभएको एक इँटा र अर्को इँटा बीचको लक हुने सिस्टम इन्टरलकिङ इँटामा छ । एकअर्कोमा लक हुने प्रविधिकै कारण यो भूकम्प प्रतिरोधी इँटा भएको प्रमोदले जानकारी दिए ।
प्रमोदका अनुसार इन्टरलकिङ इँटाको फिनिसिङ राम्रो हुने, गाह्रो लगाउँदा सिमेन्ट बालुवाको मसला अत्यन्तै कम लाग्ने, प्लाष्टर नलगाई पनि आकर्षक फिनिसिङ दिन सकिने, जाडो वा गर्मीमा तापक्रम पाँच डिग्रीसम्म तातोचिसो व्यवस्थापन हुने, साउण्ड प्रुफ हुने पनि यसका मुख्य विशेषताभित्र पर्दछन् । यो इँटाबाट नै पक्की घरको पिलर पनि बनाउन सकिने उनको भनाइ छ ।
अन्य इँटाभन्दा तीन गुणा बलियो भनिएको यो इँटाको साइज ४ इञ्च उचाई, ६ इञ्च मोटाई र एक फिट लम्बाई रहेको छ । कम कामदारले नै यो इँटा बढी जडान गर्नसक्ने र मसला कम लाग्ने भएकाले यो इँटा प्रयोग गरेर बनाउने घरमा कामदारको लागत अन्यको तुलनामा निकै कम हुन्छ । अन्य इँटा तीनवटा खपत हुने भागमा एउटा इण्टरलकिङ इँटाले पुग्ने प्रमोदको दाबी छ । अहिले प्रमोदको कारखानाबाट दैनिक २ सय ५० देखि तीन सय इन्टरलकिङ इँटा उत्पादन भइरहेको छ ।
उनले तीनजना कामदार र घरका तीनजना सदस्य खटेर यो इँटाको उत्पादन गर्ने काम गरिरहेका छन् । बाबु टीका सापकोटा, आमा र प्रमोद कारखानामा खटिने गरेका छन् । भर्खरै शुरु गरिएको हुँदा प्रमोदको कारखाना निर्माणकै चरणमा छ । उनले ग्राहकलाई नमुनाको रूपमा देखाउन कारखानामा एउटा डेमोन्स्ट्रेसन भवन पनि इन्टरलकिङ इँटाबाटै बनाइरहेका छन् । त्यसले ग्राहकलाई सहजै यसको विशेषताको बारेमा कुरा बुझाउन सकिने प्रमोदको भनाइ छ ।
करिब ३५ लाख रुपैयाँको लागतमा इन्टरलकिङ इँटा कारखाना शुरुवात गरेका प्रमोदले उत्पादन गरेको इँटा प्रतिगोटा ५५ रुपैयाँमा कारखानाबाटै बिक्री गर्दै आएका छन् । उनले इलाम बजारसम्म डेलिभरि दिँदा थप पाँच रुपैयाँ प्रतिगोटा लाग्ने बताए ।
भविष्यमा पार्किङ टायल्स पनि बनाएर बिक्री गर्ने सोच बनाएका प्रमोदले यसअघिको भूकम्पले धेरै भवनसहितका संरचनामा क्षति पुगेपछि यसको नियन्त्रणमा सघाउ पुर्याउन इन्टरलकिङ इँटा उत्पादन थालेको बताएका छन् । उनले अहिले इन्टरलकिङ इँटा इलाममा मात्र नभएर प्रदेश नम्बर १ मा नै एकदुई ठाउँमा मात्र उत्पादन हुँदै गरेको बताए ।