काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मोबाइल बैंकिङ महामेलाको विजयीलाई पुरस्कार वितरण गरेको छ । बैंकले मोबाइल बैंकिङ महामेलाका विजयी ५ जनालाई आइतबार पुरस्कार प्रदान गरेको हो ।
बैंकले मोबाइल बैंकिङ प्रवद्र्धनको लागि भाद्र १८ देखि असोज ३० गतेसम्म एफवान सफ्टको सहकार्यमा संचालन भइरहेकोे महामेला संचालन गरेको थियो । ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ५ जना विजयी भएका हुन् ।
समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउनु भएको छ । सनम राई, ध्रुवकुमार शाही, प्रकाश बोहरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नुभएको छ ।
विजेतालाई बैंकका नायव प्रमुख कार्यकारीअधिकृत केशवप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहक छन् ।
नायव प्रमुख कार्यकारीअधिकृत लम्सालले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कार्यक्रममार्फत युवा ग्राहकलाई आकर्षण गर्न खोजिरहेको बताउनुभयो । एफवान सफ्टका प्रमुख कार्यकारीअधिकृत सुवास शर्माले बैंकसँग सन् २००९ देखि मोबाइल बैंकिङ्गमा सहकार्य गर्न पाउदा खुशीलागेको बताउनुभयो ।
उहाँले समाजमा मोबाइल बैंकिङ्गको आवश्यकता भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बैंकका विभागीय प्रमुख रिको स्थापित, कमलेश ठाकुर, सरोज बस्नेत लगायत बैंकका कर्मचारी र एफवान सफ्टका अद्वविदरत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो ।
बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया नाफा गरेको छ । बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकले सातवटै प्रदेशको ७७ जिल्लामा २ सय ३८ शाखा, २ सय ५ एटिएम र ९३ शाखारहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ ।