काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्रीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तरगतको सुरुङमार्ग सोमबार शिलान्यास गर्नुभएको हो ।
उहाँले कार्यक्रममा नेपाल सुरुङमार्गको नयाँ युगको प्रवेश गरेको उल्लेख गर्दै आम नेपाली जनतालाई बधाई दिनु भयो । प्रधानमन्त्री ओलीले जलविद्युतको क्षेत्रमा, सिंचाईको क्षेत्रमा नहर बनेपनि राजमार्गमा सुरुङ निर्माणका कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुशी लागेको बताउनु भयो । उहाँले सुरुङमार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाजमा इन्डो कर्पोरेशनलाई सचेत गराउनु भयो ।
४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो । प्रधानमन्त्रीले सुरुङमार्ग निर्माणका लागि सहयोग गरेकोमा जापान सरकार र जापानी जनताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको इतिहासमा यति धेरै सडक निर्माण गरेको कहिल्यै नभएको स्पष्ट पार्नुभयो । उहाँले सुरुङ मार्ग निर्माणको अन्य कामलाई पनि सरकारले तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । टोखा–छहरे, बेत्रावती–स्यापूmवेशी सुरुङ मार्गलाई पनि अगाडि बढाउन लागिएको पनि प्रधानमन्त्रीको भनाई छ । ‘१६ सय किलो मिटर सडक त कालोपत्रे गरिएको छ,’ उहाँले भन्नु भयो, ‘एयरपोर्टहरु बन्दैछन, फाष्ट्र ट्रयाक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ, नेपालको इतिहासमा यति धेरै सडक मार्ग कहिल्यै बनेको थिएन ।’
प्रधानमन्त्रीले अब सडक पेटीमा कुनै मानिस देख्न नपर्ने दाबी गर्नुभयो । उहाँले सडक पेटीमा कोही मानिस भए सरकारले उनीहको आवासको व्यवस्था गर्ने आश्वासन दिनु भयो ।कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङ मार्ग निर्माणको काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौंको सडक आगामी पुस महिनाभित्रसम्म कालोपत्रे गरिसक्ने दाबी गर्नु भयो ।
कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सुरुङमार्गको निर्माणले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि सुरुङमार्ग निर्माण कार्य उपयोगी हुने बताउनु भयो ।
जापानको ऋण सहयोगमा निर्माण हुने लागेको सुरुङमार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ । १३ अर्ब ५० करोड बजेट लाग्ने अनुमान गरिएको सुरुङमार्गका लागि जापान सरकारले नेपाललाई शून्य दशमलव शुन्य १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।