चितवन । नेत्रविक्रम चन्द विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । शिक्षा क्षेत्रसँग सम्बन्धित लोहनीलाई प्रहरीले मंगलबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनीबाट पक्राउ गरेको हो । ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लले लोहनी पक्राउ परेको जानकारी दिनुभयो । प्रहरीले लोहनीलाई पक्राउ गरेर विप्लवको गतिविधिबारे अनुसन्धान गर्न लागेको स्रोतले जनाएको छ ।
लोहनीलाई पार्टीबाट बिदाई गरिएको भनिएपनि पक्राउ गरिएको भन्दै परिवारले आपत्ती जनाएको छ । उनलाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका ११ बसेनीस्थित घरबाट गिरफ्तार गरेको हो ।
लोहनीकी धर्मपत्नी सरला रेग्मीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, आज (मंगलबार) विहान ७.३० बजेको थियो । चितवन कोठाबाट मर्निङवाक जादै हुनुहुन्थ्यो । साधारण पोसाक लगाएका ६/७ जना पुलिस भन्नेहरूले बिना जानकारी जबरजस्ती लिएर गए । उहाँ (माइजथेनिया ग्रयनविज र स्पोन्डिलोसिस) सुगर, हाइ अनि पेटको समस्याको बिरामी हुनुहुन्छ । जुन एक लाखमा एकजनालाइ हुने बिरामी हो । जो कलमविर हो । उहाँ आस्था र विचारको कलम बोकेर संसदिय गणतन्त्र र नयाँ गणतन्त्रको मध्यस्थतामा अहोरात्र खटिरहनु भएको थियो । उहाँ बिरामी भएकै कारण पार्टीमा नरहेको जानकारी पनि आइसकेको छ । के कारणले उहाँलाई पुलीसले लिएको हो । हामी परीवार जानकारी पाउने अधिकारबाट वञ्चित छौं । पत्रकार, मानबअधिकार कर्मी र स्वतन्त्र स्वाभिमानी सबैलाई अनुरोध छ । उहाँ कहाँ र कुन अवस्थामा हुनुहुन्छ ?
लोहनी विप्लव नेतृत्वको ने.क.पा. का केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, उनको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट विदाई गरिएको थियो ।
लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।