दाङ । घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित चौतारी’ ले आयाेजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती ।
बर्दियामा जन्मे हुर्केकी यी युवती १८ वर्षको छँदा तत्कालीन २०५७ सालमा माओवादीमा लागेका थिइन् । घरमा माओवादीलाई भात खुवाएको निहुँमा सेनाले उनको बाबुलाई पक्राउ गरेको थियो । रातिराति गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् ।
‘नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ’ भन्ने सन्देश दिने गीत गाउँदै उनी साँस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन् । त्यही क्रममा २०५८ सालको मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन्। ‘अरु साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं’ उनले सुनाइन् । सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए ।’
त्यसपछि उनले आङ नै जिरिङ्ग हुने घटना सुनाइन् । ‘ती सैनिक हामीलाई लछारपछार पार्दै पार्दै घर भन्दा पर जंगलको छेउमा निर्वस्त्र बनाए, अरु बहिनीहरु म भन्दा साना थिए’ उनले कारुणिक बयान गरिन’, नाङगै बनाएर ममाथि दुई वटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’
कल्पना समेत नगरेको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन । ‘अचेल म बाटामा कुकुर देख्दा बहुला जस्तो हुन्छु । डरले काँप्छु ।’ उनले सैनिकहरुबाट आफूमाथि अरु धेरै पाशविक व्यवहार भएको सुनाइन। ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन’ उनले भनिन्’, ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए , पछि धुनै नदिइ त्यही हातले भात खान लगाए ।’
ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि उनीहरुले ममाथि नराम्रो व्यवहार गरे’ उनले भनिन्’, ‘आज म बाँचेर पनि जिउँदो लास जस्तै भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन् ।’ कान्तिपुर दैनिकमा प्रकाशित छ ।