काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखलाई कडा निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाबारे सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई बुधबार सचेत गराउनु भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट बुधबार ६ वटा राष्ट्रिय गौरवको आयोजनाको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीब्रता दिन प्रधानमन्त्रीले मातहतका आयोजना प्रमुखलाई निर्देशन दिनु भयो ।
प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजनाको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिनु भयो ।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाको कामको प्रगति विवरणबारे जानकारी लिनु भएको थियो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्थ्यो ।