नेपाली सेना अहिलेसम्म विवादमा परेको छैन । नेपाली सेना राष्ट्रप्रति वफादार छ । राष्ट्रियताप्रति अडिक छ । सेनाले सधै संवैधानिक परिधिभित्रै आफ्नो कर्तव्य पूर्ण रुपमा पालना गर्दै आएको छ । सरकारको निर्णय कार्यान्वयनमा परिचालन हुँदै आएको छ । सशस्त्र द्वन्द्व निराकरण होस् या संविधानसभा निर्वाचन, त्यसमा सेना संयमित रुपमा परिचालित भयो, सेनाले देखाएको सक्रियता र निर्वाह गरेको भूमिका सह्रानीय छ, प्रशंसनीय छ ।
हुन त सेना लड्न र भिड्नकै लागि बनाएको फौज हो । त्यसैका लागि राज्यले सेनालाई अत्याधुनिक हतियार दिएको छ । गोलाबारुद खरिद गरिदिएको छ । तर पनि नेपाली सेना लडाइँमा मात्र सिमित छैन । मुलुकमा विपत आइपर्दा त्यसको व्यवस्थापनमा सेना सक्रिय हुँदै आएको छ । भूकम्प, टोनार्डो र बाढी तथा पहिरोमा परेकाहरुको उद्वारदेखि पीडितको व्यवस्थापनमा नेपाली सेनाले प्रभावकारी भूमिका निर्वाह गरेको छ । सेना त्यस बाहेकका अन्य सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएको छ । त्यही कारण जनताको मन जित्न सफल भएको छ नेपाली सेना । जनतामा सेनाप्रति विश्वास छ, भरोसा छ । नेपाली सेनाले राष्ट्रिय रुपमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म नै शाख उच्च बनाउन सफल भएको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा नेपाली सेना द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना गर्न सक्रिय छ । नेपाली सेना सक्रिय भएको मुलुकमा शान्ति स्थापना सफल भएको छ । त्यहीकारण नेपाली सेनाले विश्वमा ख्याति कमाएको छ । नेपाली सेना आफ्नो कर्तव्यमा लम्किरहेको छ । विश्वसामु चम्किरहेको छ । नेपाली सेना दक्षिण एशियाकै सबै भन्दा पुरानो सेना हो । पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेला १७४४ सालमा बनाएको गोरखाली फौजपछि राष्ट्रिय सेनाको रुपमा स्थापित हुँदै हाल नेपाली सेना भएको छ । नेपाली सेनाले स्थापनादेखि नै विभिन्न प्रहार खेप्दै आएको छ । राष्ट्र, राष्ट्रियता र आफूमाथिको प्रहारलाई सेनाले संयम रुपमा निस्तेज पार्दै आएको छ।
पछिल्लो समय नेपाली सेनाले विश्वका विभिन्न राष्ट्रका सेनासँग सुमधुर सम्बन्ध बनाउँदै गएको छ । केही मुलुकसँग सैन्य तालिम तथा प्रशिक्षण समेत आदानप्रदान गरिरहेकाे छ । ३४ राष्ट्रको सैन्य अभ्यासमा नेपाली सेवा उत्कृष्ट भएको छ । नेपाली सेनाले क्षमता र सम्बन्ध विस्तार गरिरहेकै बेला यसलाई शंकुचन पार्ने प्रयास समेत नभएको होइन । शान्ति सेनामा खट्ने नेपाली सेनाको नेतृत्वबारे समेत प्रश्न नउठाइएकाे होइन । त्यो नेपाली सेनामाथिको कुटनीतिक र कुटिल प्रहारको प्रयास थियो । त्यसलाई नेपाली सेनाले अस्वीकार गर्यो । त्यसपछि पनि सेनामाथि विभिन्न ढंगले प्रहार गर्ने क्रम रोकिएको छैन । विश्चमै उच्च गरिमा कायम गरेको नेपाली सेनाको छवि धमिल्याउने प्रयास हुन थालेको छ ।
सरकार र माओवादीबीच २०६३ मंसिर ५ गते शान्ति संझौता गरी सशस्त्र द्वन्द्व टुंग्याइएको थियो । सशस्त्र द्वन्द्वको बेला राज्य र माओवादी पक्षबाट भएका कमीकमजोरी दुवै पक्षले नउठाउने र जटिल समस्या सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी त्यसैमार्फत मिलाउने सम्झौतामा उल्लेख छ । आयोग पदावधि सकिएपछि फेरि गठन प्रक्रियामा छ ।
मुलुक संघीयता कार्यान्वयन चरणमा छ। राजनीति अझै पनि संक्रमणकालीन अवस्थामै छ । यस्तो बेला सेनालाई विवादमा नपारी अक्षुंण राख्नु आवश्यक छ । तर यहीबेला शान्ति संझौता विपरीत ‘द्वन्द्व पीडित चौतारी’को नाममा द्वन्द्वकालीन घटना प्रसङ्ग कोट्याएर नेपाली सेनाको छवि धमिल्याउने प्रयास गरिएको छ । ठूलो निकायभित्र कुनै व्यक्तिले कहिले कही संयमता गुमाउनु, कमीकजोरी गर्नु स्वभाविक हो । तर त्यही विषय वा प्रसङ्गलाई लिएर सिंगो निकायमाथि नै प्रहार गर्नु खोज्नु उचित होइन । मुलुकको संक्रमणलीन अवस्थामा सेनामाथिको आक्षेप र प्रहार राज्यमाथिकै प्रहार हो । मानव अधिकारको नाममा नेपाली सेनामाथि आक्षेप लगाउनु र प्रहार उचित हाेइन।