काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकामा शनिबार तिहार सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । पत्रपत्रिकामा बहिर्गमित सभामुख कृष्णबहादुर महरालाई जेल सजाय तोक्ने तयारीसहित फरक-फरक शीर्षकमा राजनीतिक, आर्थिक र समाजका विविध पक्षका समाचार छापिएका छन् ।
गोरखापत्र दैनिक– प्रधानमन्त्ती केपी ओलीले राष्ट्रिय स्वतन्त्रताको समर्थन, सार्वभौम समानता, क्षेत्रीय–अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण माध्यमबाट सबै विवाद समाधानको लागि असंलग्नताको सिद्धान्त मूल्यवान रहेको बताउनुभएको छ ।असंलग्न आन्दोलनसँग आवद्ध राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुको १८ औं शिखर सम्मेलन शुक्रबार अजरबैजानको बाकुमा सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो ।
कान्तिपुर दैनिक– धेरै फल्ने जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्के जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको डीएनए परीक्षणमा बीउ गरिमा जातसँग नमिलेको हो ।
भारतको रेनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको बीउ साउथ इष्ट एशियन सिड कम्पनीले ल्याएर नेपालमा बेचेको थियो ।‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने, ‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’
अन्नपूर्ण पोष्ट दैनिक– रोप्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि जितेका छन् । एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशीको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटजन्स लाइफ इन्सोरेन्सकातर्फबाट २५ लाख बराबारको जीवन बीमा हात पारेका छन् ।
नागरिक दैनिक– भारतबाट पाइपमार्फत अमलेखगंजसम्म डिजेल आयात शुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपबाट ल्याउने भएको छ ।भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइप निर्माण गर्ने निगम र इन्डियन आयल कर्पेरेशनण्आइओसी)बीच सहमति भएको छ । मोतीहारी अमलेखगंज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुबै पक्षबीच भएको छ ।
राजधानी दैनिक– सरकारले जनताका समस्या। गुनासा र काम समयकै सम्बोधन गर्ने उदेश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको छ । यसका लागि सरकारले गुनासो सम्बोधन गर्ने सम्बन्धमा मेलेसियसन र मोडेलसमेत लागू गर्ने गरी छलफल अघि बढाएको छ ।