कालिकोट । पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नै घरमा गाउँपालिकाको कार्यालय राखेर भाडा असुलिरहेको खुलेको छ । जनप्रतिनिधिले यसो गर्नु अवैधानिक मानिन्छ । घरभाडा बापत बमले मासिक पचास हजार रुपैयाँ भाडा बुझ्दै आएको पाइएको हो ।
बमले वडा नं ९ को थिर्पुमा रहेको उनको घरका १२ वटा कोठा गाउँपालिकालाई भाडामा लगाएका छन् । कोठा भाडामा लगाउँदा सामान्य प्रक्रिया समेत नअपनाई घर भाडा बुझिरहेको पाइएको हो ।
सार्वजनिक खरीद नियमावली अनुसार सार्वजनिक तथा सरकारी कार्यालयले कसैको घर भाडामा लिनुपर्ने भए टेण्डर आह्वान व्यवस्था छ । तर गाउँपालिकामा बिना प्रतिस्पर्धा अध्यक्ष बमले आफ्नो घरका १२ कोठा भाडामा लगाएका हुन् । घर भाडामा लगाउन बमले कुनै सूचनासमेत प्रकाशित गराएनन् ।
गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख राजबहादुर बम भने, ‘अध्यक्षकै घरमा कार्यालय भएपनि भाडा कति छ मलाई थाहा छैन ।’
समाचार स्रोतका अनुसार अध्यष बमले गाउँपालिकामा रहेका केही निजी क्लिनिकलाई बन्द गराउन आफैले एनएमबी नामक अस्पताल निर्माण गरेको, अस्पताललगायतका निजी संरचनाहरुमामा कार्यदलका सदस्यलाई काम गराई राज्यकोषबाट भुक्तानी दिन लगाउने गरेको, पलाताका १५० भन्दा बढी युवालाई रोजगारी दिने नाममा आफ्नै अस्पताल निर्माण, शौचालय निर्माण र घरको काममा लगाएको जस्ता जनप्रतिनिधि आचार संहिता विपरित कार्य गरिरहेका छन् ।
बमले गाउँपालिकामा उपभोक्ता समिति गठन गर्दा आफन्तलाई समावेस गराउने गरेको, आफ्ना भाइ तथा स्थानीय निकायमा तत्कालीन जिल्ला विकास समिति कालिकोटमा जागिरे रहेका राजबहादुर बमलाई संविधान तथा निजामति कर्मचारी ऐन विपरित गाउँपालिकाको कार्यकारी प्रमुख बनाएको समेत आरोप लागेको छ ।