काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलन, दर्शन, राजनीति क्षेत्रमा सुपरिचित व्यक्तित्व प्राज्ञ गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘प्रगतिवादी समालोचना’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । शनिबार पुष्पलाल अध्ययन समाजले आयोजना गरेको कार्यक्रममा उपाध्यायको पुस्तक नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ले सार्वजनिक गर्नुभयो ।
पुस्तक विमोचन समारोहमा बोेल्नुहुँदै महासचिव तथा माक्र्सवादी चिन्तक वैद्यले लेखक उपाध्यायले समालोचनाको क्षेत्रमा निकै महत्वपूर्ण पूस्तक तयार पारेको बताउनुभयो । मन्तव्यका क्रममा वैद्यले उपाध्यायले पुस्पलालका बेलाको कम्युनिष्ट संस्कृति र आजको अवस्थालाई विभिन्न कृतिको समालोचनामार्फत तुलना गरेको उल्लेख गर्नुभयो ।
समालोचनामाथि परिचर्चा गर्दै प्रगतिशील लेखक संघका अध्यक्ष प्रा. डा. जिवेन्द्र देव गिरीले नेपाली समालोचनाको क्षेत्रमा थुप्रै प्रगतिवादी समालोचनाहरुको आवश्यकता रहेको औंलयाउनुभयो । गिरीले लेखक उपाध्याय आफै पनि दर्शनका विज्ञ भएकाले समालोचनामा दार्शनिकता देखिएको उल्लेख गर्दै समालोचनामा पुष्पलालसँगको संगत, नेपाली कम्युनिष्ट आन्दोलनका ऐतिहासिक पाटाहरु र आफ्ना अनुभवहरु समेत समेटिएको बताउनुभयो ।
प्रगतिवादी समालोचनामा समिक्षा गर्दै प्रगतिवादी साहित्यकार डा. विन्दु शर्माले उपाध्यायले समालोचनामा आख्यान, उपन्यास, स्मृतिग्रन्थ, महाकाव्य र कवितालगायतका सबै विधा समेट्दै राजधानी बाहिर किनारामा परेका कृतिको खोजि गरेको बताउनुभयो । समालोचनामा लेखकले कृतिको समिक्षा गर्दा विषयवस्तु,संरचना, विशेषता, प्राप्ती र सिमाहरुलाई ध्यान दिइएको डा. शर्माको भनाइ थियो ।
कार्यक्रममा आफ्ना अनुभवहरु राख्ने क्रममा सर्जक उपाध्यायले समालोचनामा आजभन्दा २ सय वर्ष अघिको नेपाली समाज र यूरोपियन समाजको तुलना, मोहन वैद्य ‘किरण’ को हिमाली दर्शन र वामदेव गौतमको नेपाल महानिर्माण अभियानमा उल्लेख गरिएको नेपाली समाजवादको मोडेल र कम्युनिष्ट आन्दोलनको इतिहाससँग सम्बन्धित उपन्यासहरुको विश्लेषण लगायतका विषयवस्तु समेटेर समालोचना तयार पारिएको बताउनुभएको थियो ।