शिब बोहोरा म्याग्दी । मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टीको घुम्तीबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरिक्षक धुर्वप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार बस घुम्तीबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र दरवाङमा लगिएको छ । मृतकमध्ये बिमको किसानी माविको कक्षा ६ मा पढ्ने आइसा जुग्जाली र कक्षा ३ का रवी जुग्जालीको शव पहिचान भएको छ भने अन्य दुई जना महिलाको पहिचान हुन सकेको छैन् ।
बसमा रहेका अधिकांश किसानी मावि र प्राविधिक शिक्षालयका विद्यार्थी रहेको बताइएको छ । दसैं तिहारको बिदा मनाएर शिक्षालय फर्कंदै गरेका विद्यार्थी चढेका थिए । साँझ साढे ६ बजेतिर भएको दुर्घटनापछि प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेर दरवाङ पठाएका थिए ।
बेनीबाट बिमका लागि छुटेको बस दरवाङमा पुगेर बिग्रीएपछि यात्रुलाई दुर्घटना भएको बसमा चढाएर बिम पठाइएको थियो । घुम्ती नपुगेर ब्याक गर्ने क्रममा ब्रेक नलागेपछि गाडी सडकबाट खसेको हाम फालेर ज्यान जोगाएका यात्रु टिकप्रसाद पाइजाले बताए ।
दुर्घटनामा म्याग्दी मालिका गा.पा. ७ बिमका ६० वर्षिय राजमान दर्जी, ५३ वर्षीय हुम बहादुर जुग्जाली, ३८ वार्षिय पल प्रसाद जुग्जाली २६ बर्षिय नरदेवी परियार, बेनी नगरपालिका ९ घतानका १६ बर्षीय बिसन खत्री, बेनी नगरपालिका ४ राक्षका १७ बर्षीय गौरब पौडेल , बाग्लुङ ताराखोला गाउपालिका ५ का १७ वर्षिय बिजय कँडेल, बेनी नगरपालिका ४ राक्षका १९ वर्षिय प्रमिस पौडेल , म्याग्दी मालिका गाउँपालिका ७ का २६ वर्षिय दिलु शेरपुञ्जा, ६ वर्षिय कृष्टिना जुग्जाली, ६१ वर्षिय तनदेवी जुग्जाली, ६० वर्षिय चन्द्रकली दर्जी, ३८ वर्षिय पलदेवी जुग्जाली १८ वर्षिय शुरेश जुग्जाली, ३१ बर्षीय लिला जुग्जाली, म्याग्दी धवलागिरी गाउपालिका ३ का १८ वर्षिय रिल माया बुढा बेनी नगरपालिका ३ भकिम्लीका ३५ वर्षिय केशब शर्मा न्युरे र म्याग्दी मंगला गाउँपालिका ५ छिसवाङका २२ वर्षिय मिला खत्री घाईते भएका छन् । घाईतेको अवस्था सामान्य रहेको बताइएको छ ।