काठमाडौं । गृष्मा ब्रोडकाष्टिङ्ग प्रालिको आयोजनामा ‘सप्तरंग सांगितिक यात्रा २०७६’ आयोजना हुने भएको छ ।
गतवर्ष पनि आयोजना भएको सांगितिक यात्रा यस वर्ष भने पर्यटन वर्ष २०२० प्रवर्द्धनका लागि आयोजना हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
यसवर्षको सांगितिक यात्रा वातावरणिय सचेतना, पर्यटन प्रवर्द्धनमा स्थानीय सहभागिता र सामाजिक सचेतनाकासाथ गरिन लागेको आयोजकको भनाइ छ । सात प्रदेशका प्रमुख सात शहरहरु विर्तामोड, विरगञ्ज, चितवन, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र पोखरामा आयोजना गरिने यात्रा कात्तिक २० गते शुरु भई मंसिर ४ मा सम्पन्न हुनेछ ।
कार्यक्रममा जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेलले जनताको आवाज मुखरित गर्नका लागि जनस्तरबाटै प्रयास हुनुपर्ने बताउनुभयो । सप्तरंग जनताकै कलाकारको संगठन भएकाले यो सांगितिक यात्रा पनि जनताकै भएको डा.पौडेलको भनाइ थियो ।
‘सामाजिक विकृतिका कारण अपराध बढेको छ’, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमजंङ्ग सुवेदीले भन्नुभयो, ‘सप्तरंग जस्ता सांगितिक कार्यक्रमले सामाजिक सद्भाव विकास गर्न सहयोग पुग्छ ।’
‘सप्तरंग कार्यक्रमले सम्पूर्ण नेपालीको विविधतालाई सम्मान गर्दै एकरुपमा गास्नेछ’, कार्यक्रमका बारेमा जानकारी दिदै महानायक राजेश हमालले भन्नुभयो, ‘हामीमा भएको समानतालाई अझ दिगो र प्रगाढ बनाउँछ ।’
सांगितिक यात्रामा राजेश हमाल, जितु नेपाल, सुगम पोखरेल, प्रकाश सपुत, मेलिना राई, रवि ओड, हिमाल सागर लगायतका कलाकार सहभागी हुने बताइएको छ ।
सांगितिक यात्रा जनता टेलिभिजनले प्रसारण गर्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।