प्रेम बुढा
बर्दिया । उद्योग, व्यापार, कृषि पर्यटन र कला सस्कृतिको विकास गर्दै ग्रामिण प्रविधि तथा वैज्ञानिक प्रविधिको प्रदर्शन गर्ने उद्धेश्यसहित आयोजित दोस्रो बाँसगढी माघी महोत्सव शुरु भएको छ ।
महोत्सवका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँसगढी उद्योग वाणिज्य संघका महासचिव गोविन्द बरालले ११ दिनसम्म चल्ने महोत्सवको १ लाख दर्शकले अवलोकन गर्ने बताए । उनले भने, ‘औद्योगक, पर्यटन, कृषि र साना तथा लघु उद्यमका करिब २ सय ५० स्टल रहने छन ।’
कृषिमा बढी उत्पादन लिनका लागि मेलामा किसानलाई तालिमको व्यवस्था गरिएको आयोजकको दाबी छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतीक प्रस्तुती हुने महोत्सवमा करीब ६२ लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
महोत्सवबाट बचत हुने रकम बाँसगढी उद्योग वाणिज्य संघको आधुनिक सभाहल निर्माणमा खर्च गरीने संघका अध्यक्ष कटक विसीले बताए ।
महोत्सव मार्फत आन्तरिक पर्यटनको विकास गर्न पाहुनाहरुलाई निकुन्जसँग समन्वय गरी हात्ती सवारी गराईने, नजिकै रहेका सिमसार क्षेत्र तथा सत्खलुवा तालमा र्याफ्टिङ, होम स्टेहरुमा बसोबास लागि व्यवस्थापन गरिएको आयोजकले जनाको छ ।
महोत्सव माघ १२ गतेदेखि २२ गतेसम्म चल्ने छ ।