काठमााडौं । मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ७८ जनाको उम्मेदवारी भएको छ । उपनिर्वाचनका लागि कास्की, भक्तपुर, दाङ र बागलुङमा उम्मेद्वारी दर्ता गरिएको हो ।
मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन दर्ता भएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाबाट प्रतिनिधिसभा उम्मेद्वार विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवार दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचनका लागि कास्कीमा २१ जनाको उमेद्वारी दर्ता भएको छ ।
त्यस्तै, भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यका लागि सत्तारुढ दल नेकपाबाट देवीप्रसाद ढकाल (डीपी) र कांग्रेसबाट कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । भक्तपुरबाट दश पार्टीका २१ जनाको उम्मेदवारी परेको छ ।
दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ मा उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेकपाबाट विमला वली, कांग्रेसका केशवकुमार शर्मालगायत १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, बागलुङ क्षेत्र नम्बर २ (ख) मा वामगठबन्धनबाट खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचनले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार बागलुङमा विभिन्न दलका १० जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ । बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका थियो ।
स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुनेछ ।
आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको छ ।