माेरङ । पूर्वाञ्चल हाइकु संघले हाइकु संग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक गरेको छ ।
संस्था स्थापनाको एकदशकपछि पहिलो कृतिका रुपमा हाइकु संग्रह सार्वजनिक गरिएकाे हो ।
प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, अतिथिहरु हाइकु संघ नेपालका केन्द्रीय अध्यक्ष चेतनाथ धमला, केन्द्रीय उपाध्यक्ष मिश्र बैजयन्ती, वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल र अध्यक्ष तिला लेकालीद्वारा संयुक्तरूपमा सार्वजनिक गरिएको संग्रहमा एक सय १६ जना हाइकुकारहरुको १ हजार पाँच सय ७२ हाइकु संग्रहीत रहेका छन् ।
कृतिमाथि टिप्पणी गर्दै हाइकुकार धनकुटे कान्छाले समय–अभावका कारण कृतिका सबै हाइकु पढिनसेकाले धेरै कुरा गर्न नसकेको तर सातौँ शताब्दीमा प्रारम्भ भएको हाइकु केवल पाँच, सात र पाँच गरी सत्र अक्षरका तीनहरफे विधा मात्र होइन, यसले ऋतुलगायतका कुराहरूमा अनिवार्य ध्यान दिनुपर्ने बताउनुभयो ।
सातजना कृति–सम्पादकहरूको तर्फबाट इरान राईले कृति सम्पादनमा भएका/गरिएका कुराबारे जानकारी गराउनुभएको थियो । नेपाली भाषाको वर्णविन्यासको वर्तमान मानकमा एकरूपता नभएको जटिल अवस्थामाथि साहित्य, त्यसमाथि नवीन र कठिन विधा हाइकुको सम्पादन केवल भाषा–सम्पादन मात्र नभएर हाइकुकारको भावनाअनुसार संरचनागत सम्पादन चर्को भएको र कतिपय हाइकुहरूलाई हाइकुकारकै जिम्मामा छोडिएको कुरा सम्पादक राईले बताउनुभयो ।
कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप बेलबारीबाट प्रकाशित पुस्तक र पत्रिकाहरु प्रदान गरिएको थियो । पूर्वाञ्चल हाइकु संघ विसं. २०६७ मा स्थापना भएको साहित्यक संस्था हो ।