बलवीर भुजेल सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनुभएको छ । हरिहरपुरगढी गाउँपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले मन्त्रीमण्डल हेरफेर हुने बताउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड बिचमा मन्त्रीमण्डल हेरफेरबारे कुराकानी भएको र एउटै मन्त्री ५ बर्ष सम्म बसिरहने गरि स्थायी नियुक्ति जस्तो पनि नभएको उहाँले प्रष्ट पार्नुभयो । मन्त्रिमण्डल हेरफेरबारे मनोबल र निराशा नआओस भनेर सार्वजनिक नगरिएको तर छिट्टै नै हेरफेर हुने बताउँदै श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्दा कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।
पछिल्लाे समय कम्युनिष्ट पार्टीमा आफू मात्रै पदमा बस्नुपर्ने र अरु अगाडी नबढुन भन्नेजस्तो निषेधको प्रवृती बढेको बताउनुहुँदै नेता श्रेष्ठले भन्नुभयो, ‘जनताको जनजिवीकाका सवालमा भन्दा पनि शक्तिको दुरुपयोग गरेर सम्पती जोड्ने, कमाउ धन्दामा लाग्ने प्रवृृती बढेको छ र यदि अवसरको सदुपयोग गर्न सकिएन भने कांग्रेस बराबर हुने र नेपालबाट कम्युनिष्ट पार्टीको अवशान हुनसक्छ ।’
पार्टीमा अन्तरपार्टी संघर्ष कम हुने गरेको र वैचारीक रुपमा फरक मत राख्ने पक्षलाई निषेध गर्दा पार्टीमा जनवाद तथा मार्क्सवाद नहुने र व्यक्तिवाद हाबी देखिएकाले कम्युनिष्ट आन्दोलन नै कता जाँदैछ भन्ने कुरामा अन्यौलता देखिन थालेकोमा उहाँको जोड थियो ।
पार्टीमा जनवादी केन्द्रियताको अभ्यास कम हुँदा विचारको संगठन निमार्ण नहुने, व्यक्तिगत स्वार्थको लागी गुट निमार्ण हुने, गुटको विकासले वैचारिक बहस निषेध हुने र गुटको स्वार्थले पार्टीको विचारलाईसमेत पाखा लगाएर व्यक्तिवाद बढ्ने श्रेष्ठले तर्क गर्नुभयो ।
कार्यक्रममा नेता श्रेष्ठले पार्टीको सांगठनिक एकिकरणलाई भोली बस्ने स्थायी कमिटीको बैठकले पुर्णता दिने र राजनैतिक प्रतिवेदन पार्टीको कार्यदिशा तथा वैचारिक विषय जनतामा पुर्याउने गरि अगाडी बढ्ने जानकारी दिनुभयो ।