काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । माघ २४ गतेका लागि तय भएको निर्वाचनको आचारसंहिता उलंघन गर्नेको उमेदवारी रद्ध गर्ने निर्वाचन आयोगले जनाएको छ ।
शुक्रवारबाट लागू गरिएको निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ । आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ ।
प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ । सार्वजनिक संस्थाका प्रमुख तथा कर्मचारी, सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ । विभिन्न सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारी, राजनीतिक दल तथा भातृ संगठनलाई समेत आचारसंहिता लागू हुनेछ ।
उम्मेदवारले मतदाता प्रभावित गर्ने कुनै पनि काम कारबाही गरेमा उम्मेदवारी रद्दसँगै आयोगले एक लाख रुपैयाँसम्म जरिवाना समेत हुने बताएको छ । आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षणलगायत गतिविधि गर्न रोक लागेको छ, भने विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत गर्न नपाइने आयोगले जानकारी दिएको छ ।
वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले नछुने निर्वाचन आयोगले जनाएको छ ।