डा.भीमप्रसाद खतिवडा, धरान उपमहानगरपालिका-७, हिमायतीपथका वासिन्दा हुन् । संस्कृत साहित्यमा विद्यावारिधि खतिवडा नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनमा संलग्न छन् । केशव ( शोक खण्डकाव्य), पर्यवेक्षणम् (समालोचना, संस्कृते दुस्खान्तनाट्यसिद्धान्तपरीक्षणम्, पाश्चात्याधुनिकनाट्यसिद्धान्तस् संस्कृतनाटके तत्परीक्षणञ्च, वियोगान्तं न नाटकम्, मन दुखेको माटो (गजल सङ्ग्रह) सहित आठ पुस्तक प्रकाशित छन् । दर्जनौँ पुस्तक सम्पादन गरेका खतिवडा जनसाहित्यिक मञ्च, नेपालका केन्द्रीय उपाध्यक्ष, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, नेपालका पूर्वाञ्चल प्रमुख हुन् । उनीसँगको छोटो कुराकानीः
१. कुन पुस्तक पढ्नै हुनुहुन्छ ?
हजुर, विवेक ओझाको एेलानी भर्खरै सकेर कालिदास ग्रन्थावली पढिरा’छु अहिले ।
२. कुनै पुस्तक लेख्दै हुनुहुन्छ ?
२१ वर्षअघि त्रिविमा स्नातकोत्तर सृजनात्मक लेखनअन्तर्गत लेखिएको महाकाव्यको परिस्कारमा जुटेको छु ।
३. कुनै पुस्तक सम्पादन गर्दै हुनुहुन्छ ?
हो, पण्डित नेत्रप्रसाद काफ्ले स्मृति ग्रन्थ अन्तिम सम्पादन चलिरहेको छ ।
४. साहित्य लेखनी विस्तारै ‘प्रायोजन’ हुँदै गयो नि ?
पुँजीवादी बजार प्रणालीले लेखनलाई मानवीय सभ्यता, संस्कृति र कलाका माध्यमले चेतना र समाज जागरणको सशक्त माध्यमभन्दा बढी प्रायोजित र अर्थोपार्जनको सबल माध्यमको रूपमा वस्तु बनाएको छ । पैसा कमाउने क्षणिक विज्ञापनको विषय मात्र होइन लेखनी ।
५. जनसाहित्यका विषय ओझेल पर्न थालेका छन्, किन यस्तो भइरहेको छ ?
श्रमका, पसिनाका, सुकर्मका विषयहरू हाम्रा लेखनका विषय हुन् । बजारको हल्ला र विज्ञापनको पल्लाले यस्तो लागेको मात्र हो मित्र ! जनताको साहित्य सघन बन्दै गएको छ, लेखन र प्रकाशनमा । प्रायोजित लेखनको रङ्गीन बजारे हल्लाले पसिनाका गीतहरू कमजोर सुनिएका मात्र हुन् कि !
६. पुरस्कार, सम्मानमा पनि अचेल अध्ययन अभाव देखिन्छ, वितरण न्यायोचित बन्न नसकेको गुनासो आउँछ नि ?
अवश्य, व्यक्तिप्रभाव, किनबेच र साटासाट तथा लोभानिपापानिले पुरस्कार र सम्मानमा क्यान्सर लागेको छ । प्रोत्साहनले लेखकमा ऊर्जा थप्छ, सत्य हो तर न्यायोचित र विवेकपूर्ण हुन जरुरी छ । अयोग्य पोषिनु अभिशाप । विस्तारै यस दिशामा लेखकहरू स्वयं चिन्तनशील बन्दै गएका छन्, जो बिकेका छैनन् पैसा र लोभमा, फसेका छैनन् स्वार्थी विनिमयको जालोमा ।
७. संघीय संरचनामा साहित्यको स्थान बन्न सक्ला ?
अवश्य, चेतनाको कलात्मक प्रारूप हो साहित्य । सम्बद्ध प्रदेश चेतनाको सन्दर्भमा कति सबल र सम्पन्न छ भन्ने कुरा साहित्य, कला र संस्कृतिको पक्षबाट नै मूल्याङ्कन हुने भएकोले संघीय संरचनामा साहित्यको स्थान जबर्जस्त र विशिष्ट बन्ने निश्चित छ ।
८. भाषामा प्रहार छ, अंग्रेजी र हिन्दी शब्द सापटीविना रचना तयारै नहुने अवस्थालाई कसरी हेर्नु भएको छ ?
भाषा माध्यम हो प्रस्तुतिको । नक्कल र तडकभडक अनावश्यक हो । भाषामा शब्दहरु मिसिनु वा अन्य भाषाका शब्दहरुको प्रयोग हुनु आवश्यकता वा कामचलाउ बाध्यता अर्कै कुरा हो तर जुन भाषामा सृजना वा सृजनासम्बद्ध लिखित सामग्री तयार गर्नु छ सम्भव भएसम्म त्यही भाषाको प्रयोग उपयुक्त हुन्छ । यसो भनेर आजको समय र परिवेशबाट स्वाभाविक बनेको भाषिक प्रयोगलाई यो वा त्यो ढङ्गले उपेक्षा गर्नु पनि हुँदैन, किनकि भाषा माध्यम हो । एउटा कुरामा प्रष्ट हुन जरुरी छ कि लिखित प्रयोगमा पनि विधागत रूपमा प्रयोग गरिने भाषामा बढी संवेदनशील हुँनै पर्दछ ।
९. भेगीय साहित्य विकासमा जुटेका संस्थाहरुलाई केन्द्रले कस्तो दृष्टि बनाएको पाउनुहुन्छ ?
समान न्यायको सिद्धान्त लागू गरिनु पर्छ, तर स्तर, आवश्यकता र अवस्थाको मूल्याङ्कन गरी विवेकपूर्ण ढङ्गले सम्बद्ध क्षेत्रहरूलाई माथि उचाल्ने योजना आवश्यक छन् । खास गरी सृजनाको क्षेत्रमा लेखनलाई प्रोत्साहन र प्रकाशनमा सहयोगको नीति अपरिहार्य छ । राजधानी तथा सुगम सहरहरू र दूरदराजका बस्तीहरुलाई केन्द्रले समानुपातिक र उत्प्रेरक दृष्टिले हेर्नुपर्छ ।
१०. भारत र नेपालको नेपाली र हिन्दी साहित्यमा पुलको काम पनि हुन सकेको छैन नि ?
विश्वसाहित्यको स्तरमा पुग्ने अवस्थामा पनि नेपाली साहित्यले अनुवादकै कमीले उत्साहजनक प्रशंसा पाउन सकेको छैन । नेपाल र भारतबीचको सन्दर्भमा पनि हिन्दी भाषा वा नेपाली भाषामा रूपान्तरण केही भएको भएता पनि पर्याप्त छैन, जुन आवश्यक छ । अङ्ग्रेजीलगायतका भाषाहरुमा नेपाली कृति तथा ती ती भाषाका कृतिहरु पर्याप्तरुपमा नेपालीमा अनुवाद रूपान्तरणको परम्परा सघन बन्नु आवश्यक छ । राज्यको दायित्वभित्रै यसलाई राखिनु जरुरी छ ।
११. विभिन्न साहित्यिक उत्सव, भ्रमण हुने गरेका छन्, तिनले साँच्चै साहित्य प्रवद्र्धनमा सहयोग पुगेको छ ?
अवश्य पनि, प्रेरणा र ऊर्जाको आदानप्रदान तथा अनुभवहरुको घुलमिलबाट सृजनामा सकारात्मक प्रभाव पर्दछ नै ।
१२. नयाँ पुस्ता अवसरकै खोजीमा छन्, लेखनीमा भविष्य छ भनेर कसरी विश्वास दिलाउने तिनलाई ?
समय गतिशील छ । शब्द बेचेर बाँच्न, कला र गलाका आधारमा बाँच्न अहिले समस्या छ, तर समय अनुकूल बन्ने विश्वासले हामी सृजनकर्ममा लाग्नुपर्दछ । आशावादी, जीवनवादी सोचले हामीलाई हरेक काममा सफलता दिलाउने छ । लेखनीमा, सारङ्गीका तारमा, कलाकारका हाउभाउमा, गायकका गलामा रहेको ऊर्जाले यो मुलुक र हामी सबैलाई सधैँ जीवन्त बनाउने, संसारभरि चिनाउने र स्रष्टालाई अमर अमर बनाउने सामर्थ्य राख्दछ, बस् यही सामर्थ्यभित्र हरेक लेखक, कलाकार गर्वका साथ बाँच्न सक्ने छन् । यहीको सृजनाप्रतिको सम्मान पनि ।