लोकेन्द्र प्रशाद जोशीदार्चुला । निर्वाचन मिति नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरुले प्रचारप्रसारलााई तीब्र बनाएका छन् । चुनावी प्रचारसँगै कुन क्षेत्रमा कति मत आउँछ भन्ने कुराको अंकगणितीय खेल पनि दलहरुले सुरु गरेका छन् ।विगतदेखिको जनमत, उम्मेदवारको व्यक्तित्व, संगठन र कामको प्रभावका आधारमा जनताले आफ्नो पक्षमा कति मत देलान भन्ने अड्कलबाजी प्रमुख प्रतिस्पर्धी दलहरुले गरिरहेका हुन् ।संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा पालैपालो विजयी नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएकाले जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।
स्थानीय तहले कांग्रेस उत्साहितस्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम र संगठन बलियो भएकाले आफुहरुको जीत हुने दावी गरेको छ ।वाम गठबन्धनका उम्मेदबारसँग पहिलो र दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा पराजय भोगेका कांग्रेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू समानुपातिकमा बसेपछि कांग्रेसमा केही चिसो पसेको छ ।
हार्ने डरले बडू पछि हटे जिल्लाबाट प्रतक्षमा सिफारिस भएर पनि बडू समानुपातिकमा बसेपछि गठबन्धनसँग हार्ने डरले चुनावी मैदान छाडेको आकलन भइरहेको भइरहेको छ ।यद्यपि नेता बडुले युवा नेतृत्वलाई स्थान दिन आफू समानुपातिकमा बसेको तर्क गरिरहेका छन् । अहिले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्याका लागि दार्चुमा ३५ वर्षदेखि राजनीतिमा सक्रिय नेता विक्रमसिंह धामी उम्मेदबार बनेर गठबन्धनलाई चुनौति दिँदैछन् ।
ठगुन्ना इतिहास रच्ने दाउमादोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेका एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना लगातार दोस्रोपटक चुनाव जितेर इतिहास रच्ने दौडमा छन् ।२०४८ देखि हालसम्मका निर्वाचनमा दार्चुला जिल्लामा अहिलेसम्म लगातार दोस्रो पटक जितेको इतिहास कसैले बनाउन सकेका छैनन् ।२०७० को संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धामा विजयी बनेका एमाले नेता ठगुन्ना यसपटक पनि चुनाव जितेर इतिहास रच्ने विश्वासमा छन् ।२०४८ मा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्डबहादुर सिंह निर्वाचित भएका थिए ।
२०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । २०५१ को मध्यावधि निर्वाचनमा बहालवाला सहायक मन्त्री दिलेन्द्रप्रसाद बडूलाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै एमालेका तत्कालीन केन्द्रीय सदस्य प्रेमसिंह धामी विजयी बनेका थिए । एमाले नेता धामीको २०५४ मा जीप दुर्घटनमा निधन भयो ।राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमाले नेता धामी २०५१ को मध्यावधि निर्वाचनमा उत्रिएका थिए । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी बनेका थिए । एमाले नेता धामीको २०५४ मा जीप दुर्घटनामा निधन एमाले विभाजित भएपछि कांग्रेस नेता बडूलाई २०५६ को चुनाव जित्न सहज भएको थियो ।
२०६४ मा माओवादी २०७० मा एमाले२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशीले फराकिलो मतान्तरले विजय हासिल गरे ।२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी भए । प्रभावशाली नेता बडू प्रतक्ष्य निर्वाचन हारेर पनि कांग्रेसको केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गराउन सफल भए । तर नेता बडूले यो पटक भने समानुपातिक उम्मेदवार बनेर सुरक्षित अवतरण गर्न खोजेका छन् ।२०४८ देखि २०७० सम्मका ५ वटा निर्वाचनमध्ये कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले दुईपटक जिते पनि लगातार जित्न नसकेको इतिहास छ । यसपटक वाम गठबन्धन बनेपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बडूले प्रतिनिधिसभामा समानुपातिकको यात्रा तय गरेका छन् ।केन्द्रमा कोइराला परिवारका नजिकका बडूलाई समानुपातिक उम्मेदवार बनाएर देउवानिकटलाई प्रत्यक्षको टिकट दिइएकाले कांग्रेस कार्यकर्ता पनि निराश भएको उनीहरु नै बताउँछन् ।
यस्तो छ स्थानीय तहको नतिजादार्चुलामा ७ गाउँपालिका र २ नगरपालिकासहित जम्मा ९ स्थानीय तह रहेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २ नगरपालिकासहित ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका छन् ।स्थानीय तहमा पाएको मतको आधार हेर्ने हो भने पनि गठबन्धन ८ हजार बढी भोटले अगाडि छ । स्थानीय स्थानीय तहमा पालिका प्रमुखहरुले पाएको मत नेपाली कांग्रेसको २१ हजार ७ सय ६८, एमालेको २० हजार ४ सय ४५ र माओवादी केन्द्रको १० हजार ४२ मत देखिन्छन् । यसरी हेर्दा स्थानीय तह नतिजामा समेत वाम गठबन्धन कांग्रेभन्दा बलियो देखिएको छ ।
कसले गाड्ला जीतको झन्डा दार्चुलामा ?स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा भोगेको एमाले र एमाले नेता गणेशसिंह ठगुन्नाका लागि वाम गठबन्धन महत्वपूर्ण औजार बन्न पुगेको छ ।कांग्रेससँगको एक्ला–एक्लै प्रतिस्पर्धामा पछाडि पर्ने आकलन गरिएको दार्चुलाको एमालेलाई माओवादी केन्द्रको मतले हौस्याएको छ ।स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका कांग्रेस नेता एवम् पूर्वराज्यमन्त्री बडूले वामगठन्धन बनेसँगै आफ्नो चुनावी यात्रा मोडेका हुन् ।कांग्रेसका प्रभावशाली नेता बडूले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन छोडेपछि एमाले र एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाले राहत र सजिलो महसुस गरेका छन् । उनीहरुले कांग्रेस उम्मेदबारसँग दोब्बर मतान्तरले विजयी हुने दावी गरिरहेका छन । गठबन्धनले एमालेका साथै माओवादीसमेत उत्साहित बनाएको छ ।
प्रदेश सभामा को को उम्मेदवार ? दार्चुलामा दुईमध्ये एउटा प्रदेशसभामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामी सन्तोष उम्मेदवार बनेका छन् ।एउटा निर्वाचन क्षेत्रमा एमालेका गेल्बुसिंह बोहरा उम्मेदवार छन् । उता कांग्रेसले भने संगठनको बलमा वाम गठबन्धलाई ‘ध्वस्त पार्ने मिसाइल’ आफुहरुसँग रहेकाले जीत निश्चित हुने दावी गरिरहेको छ ।निवर्तमान सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना र कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बिक्रम सिंह धामीबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था छ । तर कसले नतिजा आफ्नो तर्फ पार्ला त्यो भने मंसिर २१ गतेपछि आउने परिणामबाटै थाहा हुनेछ।