काठमाडौँ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवम् पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले भारतको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् । कार्यक्रममा भारतीय राजदूत मञ्जीव पुरी सिंह पनि वक्ता थिए ।
भारतको ६९औँ गणतन्त्र दिवस पारेर नेपाल–भारत मैत्री समाजले ललितपुरमा गरेको कार्यक्रममा नेताहरुले बहुआयामिक नेपाल–भारत सम्बन्ध २१ औँ शताब्दी सुहाउँदो हुनुपर्ने बताए ।
दुईदशकपछि भारतमा एकमना सरकारले राज्य सञ्चालन प्रारम्भ गरेसँगै आर्थिक, सामाजिक, भौतिक प्रगतिको मार्गमा अग्रणी मुलुकका रुपमा आफूलाई भारतले चिनाएकाले उसको प्रगतिबाट नेपालले सिक्नुपर्ने उनीहरुको कथन थियो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै असमान सन्धिको समीक्षा गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–भारत सम्बन्धका सबै आयाममा छलफल र समीक्षा गर्न प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भएको बताए । उनले इपिजीबाटै २१औँ शताब्दी सुहाउँदो दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा पु¥याउन सिफारिस हुने विश्वास व्यक्त गरे ।
पूर्वमन्त्री पशुपतिशम्शेर जबराले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबी घटाउने र जनतालाई फाइदा पुग्ने धेरै सुधारका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको दृष्टान्त प्रस्तुत गर्दै नेपालले पनि सुशासन प्रवर्द्धन एवम् जनजीविकाका सवालमा भारतबाट धेरै सिक्न सक्ने बताए ।
पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवले विशाल, शक्तिशाली र समृद्ध भारतले आफ्नो सुरक्षा चासोलाई नेपालसँग स्पष्ट रुपमा प्रस्तुत गरेर पारस्परिक साझेदारीका साथ नेपालसँग सहकार्य गर्नुपर्ने सुझाव दिए ।
पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संघीय गणतन्त्र नेपाल निर्माणमा भारतको सद्भाव रहेको र तत्कालीन नेकपा (माओवादी) र सरकारबीच बाह्रबुँदे सहमति भारतमा नै हुनुले त्यसको पुष्टि गरेको बताए ।
पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले भूपरिवेष्टित राष्ट्रका विकासका आकांक्षा पूरा गर्न भारतले सघाउनुपर्ने विचार व्यक्त गर्दै राष्ट्रवादका चर्का कुरा सडकमा गरेर द्विपक्षीय सम्बन्धमा आँच आउने गतिविधि कहीँ कतैबाट हुन नहुने बताए ।
पूर्वमन्त्री अनिल झाले नेपाल र भारतबीचको अतुलनीय सम्बन्ध थप सुदृढ तुल्याउन एक अर्काले पिरमर्का बुझ्नुपर्ने बताए ।
समाजका अध्यक्ष प्रेम लस्करीको अध्यक्षमा कार्यक्रम भएको हो ।