नारायण थापाभक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, महेश बस्नेतले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कुनै पनि राजनीतिक दलले पैसा बाँढेर निर्वाचन जित्न नसकिने बताउनुभएको छ ।
अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरद्वारा आयोजित कार्यक्रममा बस्नेतले रकम बाढ्नेहरुमाथि युवा तथा विद्यार्थी कडा ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरद्वारा संयुक्त रुपमा भक्तपुर क्षेत्र नं. १ (क) मा नेकपाको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकाललाई विजय गराउन आयोजित भेलालाई सम्बोधन गर्दै सांसद बस्नेतले विगतको निर्वाचनको समयमा केही राजनीतिक दलले पैसाले जनतालाई किन्ने प्रयास गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन नसकिने उहाँले बताउनुभयो ।यो निर्वाचनले भक्तपुर नेकपाको हो भनेर कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेकमकिपा)ले आत्मासमर्पण गर्ने वातावरण सिर्जना हुने दाबी गर्नुभयो ।
सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुने र अस्ताएपछि बन्द हुनेछ । अब जनतालाई पैसामा किनबेच हुने सपना नदेख्न बस्नेतले आग्रह गर्नुभयो । निर्वाचनको समयमा पैसा बाढ्न कांग्रेसको अभियान सूर्य अस्ताएपछि शुरु हुने बताउँदै उहाँले निर्वाचनको सुरक्षाको जिम्मा युवा विद्यार्थीको काँधमा रहेको बताउनुभयो ।
प्रत्येक बुथमा युवाहरु व्यापक मात्रामा परिचालन गरी अनियमिता तथा भ्रष्टाचारको निर्मुल पार्दै अघि बढ्नुपर्ने बताउँदै सांसद बस्नेतले भक्तपुरमा नेमकिपाले रंगशाला, स्मार्ट सिटी, प्रदेशको राजधानी तथा राष्ट्रिय गौरवका विषयलगायतका कार्यहरुको विरोध गरेको बताउनुभयो ।
नेकपाको नेतृत्वले अबका दिनमा भक्तपुरमा विकासको बाटो अझ प्रसस्त खुलाउने बताउदै नेकपाले भक्तपुरको इतिहासमा कहिले पनि नआएको सबैभन्दा बढी बजेट वर्तमान नेकपाको नेतृत्वमा आएकोसमेत बताउनुभयो ।
उहाँले विगतको चुनामा उक्त स्थानमा २८ सयको मतअन्तरले नेकपा विजयी भएको र आगामी निर्वाचनमा कम्तिमा त्यसको डबलले जित्ने गरी लाग्न सबै विद्यार्थी, युवा, नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको थियो ।