हुमाकान्त पोखरेल
गुल्मी । ‘दुखीलाई आएन काल: बाचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५, बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गन्दर्व जातिले गाउने गीत सिकेका उनी अहिले ६९ वर्षका भए । उनी उमेरले वृद्ध हुँदै गए । शरीरमा पहिलेझैँ काम गर्ने जाँगर छैन । तर आफ्नो गायन पेशाप्रति भने उनको रुचि घटेको छैन । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जिविकोपार्जन गरेको प्रथालाई उनी कायम राख्न चाहन्छन् । तर उनलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिन सकेका छैनन् ।
पहिलेपहिले आजकाल झै सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्रीहरु गाउँबाटै जुटाउनुपर्थ्याे । जसले गर्दा गन्धर्व जातिका मानिसहरु गाउँगाउँमा गीत गाउन जान्थे । गीत गाएपछि गाउँलेले दिएको नुन, चामल, दाल, तरकारीले आफ्नो जिविकोपार्जन चलाउथे । चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवा लगायतका थुप्रै ठाउँ पुगे । ६२ वर्षसम्म उनले देशमा शासन–व्यवस्था परिवर्तन भएको देखे ।
थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उनीसँग अझै सम्झना छ । तर विडम्बना उनले भने अझै पनि शासन व्यवस्था परिवर्तन भएको महशुस गर्न पाएका छैनन् । जसले गर्दा उनको गायन पेशा फष्टाउनुको सट्टा झन् खुम्चदै गएको छ । आफूहरुको गायन पेशालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएको कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । ‘गाउँमा अझै पनि गीत सुन्ने चाहना गर्छन तर उमेरले साथ दिएन ।’ उनले भने, ‘राज्यले हेरेन, छोराहरूले सिकेनन् ।’
उनको छिमेकी पेमबहादुर गन्धर्व उमेरले ५० वर्ष पुगे । नियमित गन्धर्व जातिको गीत गाएरै जिविकोपार्जन गर्न थालेको पनि २६ वर्ष भयो । १२ जना छोराछोरीमध्ये अहिले ११ जना जिवित छन् । उनी गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बाग्लुङ, अर्घाखाँची लगायतका स्थान पुगे । त्यसैबाट परिवारको गुजारा गरेका उनको अहिले भने त्यति गाउने जागँर छैन । कारण हो, पेशा सम्मानजनक नहुनु । ‘गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन ।’ प्रेम बहादुरले भने, ‘बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरको छ ।’ पहिले–पहिले गीत गाईसकेपछि अन्न, नुन लगायतका सामग्री दिएपनि आजकल पैसा मात्र दिन थालेको उनले बताए । प्रेम बहादुरले गीत गाउने मात्र होइन, सारङ्गी बनाउन पनि जानेका छन् । आफै सारङ्गी बनाउने र बजाउने हुँदा केही रुपमा सहज छ । तरसमाजले नै नकारात्मक रुपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उनी बताउछन् । ‘कुनैकुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन् ।’ उनले भने, ‘गाउन जाँदा बचन सुन्नुपर्छ ।’
नयाँ पुस्ताले सिकेनन्
चुराबहादुरका छोरा चारभाइ छन् । तीमध्ये जेठो छोराले घर–गाउँमै मजदुरी गर्छन् भने माइलो, साइँलो र कान्छो छोरा रोजगारीको लागि भारतमा छन् । प्रेमबहादुरका पनि तीनभाइ छोरा छन् । जसमध्ये एउटा सानै छ । बाँकी दुई भाइमध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन भने अर्को छोरा रोजगारीकै लागि विदेश जाने तयारीमा छन् । बम्घामा गन्दर्व जातिका ११ घर छन् । जसमध्ये तीनजना वृद्धले मात्र सारङ्गी रेट्दै गीत गाउछन् । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर गन्धर्व । गीत गाउने अन्यको निधन भयो । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थाले । जसका कारण यो पेशा लोप हुँदै गएको छ । ‘अहिलेसम्म जसोतसो पेशा थामिएको छ, तर अब धेरै नरहने भयो ।’ चुराबहादुरले भने, ‘छोराहरुले सिक्नै खोज्दैनन् ।’ आफूले छोराहरुलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरुले नमानेको उनको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले अनुशरण गर्न नसक्दा आफूहरुको पेशा संकटमा परेको बताए । आफू रहुञ्जेल सारङ्गी बजाएपनि आफूपछि यो पेशा नै लोप हुनेमा चिन्ता व्यक्त गरे । ‘सारङ्गी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन् ।’ उनले भने, ‘रेडियो, टेलिभिनसँगै गायन पेशा पनि लोप हुँदै गएको छ ।’
जिविकोपार्जन चलेनप्रेमबहादुरका माइला छोरा शरण गन्धर्वले गायन पेशाबाट जिविकोपार्जन नचल्ने भएकाले आफूहरुले बढी चासो नदिएको प्रतिक्रिया दिए । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसहरुले गायन पेशालाई त्यति महत्व दिन छाेडेकाले आफूहरुले पनि गाउन नसकेको बताए । रोजगारीका लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताए । ‘यही पेशाले हामी हुर्कियौँ, जोगाउन मन त लाग्छ ।’ उनले भने, ‘तर आम्दानी हुँदैन ।’ यदि राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरु त्यसमा लाग्ने उनले बताए।