गुल्मी । राष्ट्रिय कफी दिवस भव्यताका साथ पोखरामा मनाईने भएको छ ।
नेपालीहरूको चाडकै रुपमा विकास गर्ने उद्देश्यले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आइतबार दिवस मनाउन लागेको हो ।
'समृद्ध नेपाल र सुखी नेपाली' को नारालाई साकार पार्न, नेपालको कफी क्षेत्र पनि सक्षम रहेको भन्दै प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको वृहत अभियानमा जुटौँ' भन्ने नाराका साथ यो वर्षको दिवस मनाउन लागेको बोर्डले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
बोर्डको तथ्याङ्क अनुसार देशभर जम्मा ५ सय १३ मेट्रिक टन कफी ग्रीन बिन उत्पादन भएको छ । गएको वर्षको तुलनामा यो वर्ष करिब १० प्रतिशतले वृद्धी हो । गत वर्ष ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । हाल कफीको कुल रोपण क्षेत्र २ हजार ६ सय पचास हेक्टर पुगेको छ । आगामी दिनमा कफीको उत्पादनमा थप वृद्धी हुने आँकलन गरिएकाे छ ।
त्यस्तै, भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ९ करोड ३७ लाख २५ हजार बराबरको ८४दशमवल २२ मेट्रिक टन कफी निर्यात हुँदा ६ करोड ५८ लाख ९१ हजार बराबरको १६३ दशमलव ३८ मेट्रिक टन कफी आयात भएको छ ।
EU Project: Trade and Private Sector Development Project को सहयोगमा बोर्डले यस वर्ष गरेको Geographical Indication System-GIS मा आधारित अध्ययनबाट नेपालभर करिब ११ लाख ९९ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २ सय २८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ । अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि करिब ४५ क्षेत्रमा मात्र कफी उत्पादन गरिरहेको छ ।
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि यही कुरालाई ध्यानमा राखी गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाहरूका कफी सम्भावित क्षेत्रलाई सुपर जोनको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरिएको छ । साथै यही पुस र माघ महिनामा बोर्डको आयोजनामा Coffee Investment Forum को आयोजना गर्ने योजना बोर्डले अघि सारेको छ ।
दिवसको अवसर पारेर मंसिर १ गते देखि लागु हुने गरी कच्चा कफीको नँया मूल्य निर्धारण गएिको छ ।
फ्रेस चेरी कफीग्रेड A रू 8५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)
ग्रेड B रू ८०।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)
पार्चमेन्ट कफी
ग्रेड A रू ४२५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)
ग्रेड B रू ४१०।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)
ड्राइ चेरी
ग्रेड A रू १४०।- प्रति केजी
ग्रेड B रू 100।- प्रति केजी
ग्रेड C रू ४0।- प्रति केजी