बागलुङ । दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।
बडिगाड गाउँपालिकाको खार बजारमा आइतबारदेखि सञ्चालन गर्न लागेको कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो।
प्रतियोगिता मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ७ प्रदेशका १ सय ६४ खेलाडी, १६ प्रशिक्षक, अन्तर्राष्ट्रिय १८ र राष्ट्रिय ४२ गरी जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभयो ।
पौंदी न्वागी मेलाकै अवसरमा बडीगाड डोजोको आयोजना र बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले २२ लाख ५० हजार विनियोजन गरेको जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रोका लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेका लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । आइतबार शुरु हुने उद्घाटन कार्यक्रम संघीय सांसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।