बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ घोडावाँधे क्षेत्रको सडकको समयमा काम नगरेको भन्दै ठेक्का तोड्ने र कारवाही गर्ने तयारी भएको खुलासा गर्नुभएको छ।
वाम गठवन्धनले बडिगाड गाउँपालिका–२, दनियामा गरेको चियापान कार्यक्रममा विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै संघीय सांसदसमेत रहनुभएका पौडेलले सो खुलासा गर्नुभएको हो।
सडकको ठेक्का पाएको सुर्य कन्स्ट्रक्सन मंसिर अन्तिममा समयावधि सकिदै छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत वागलुङ खण्डको अन्य सडक स्तरोन्नतीसहित कालोपत्रे हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पूर्ण काम हुन सकेको छैन।
कार्यक्रममा सांसद पौडेलले देशको सार्वभौमिकता र सीमाको सन्दर्भमा विगतका आफ्ना नेताका भुमिकालाई हेर्न कांंग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिनुभएको छ। सरकारले कुटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताउनुभएको छ। वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङ मार्ग शुरु गरेको भन्दै दर्जन बढी कामको फेहरिस्त सुनाउनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य, गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको भन्दै समृद्धि कम्युनिष्ट बाहेकवबट नहुने ठोकुवा गर्नुभयो। जिल्ला समन्वय समिति बागलुङको प्रमुख समेत रहनुभएका ढुंगानाले जिल्लाको समग्र विकासक लागि कम्युनिष्ट सरकार लागि रहेको दाबी गर्नुभयो। अबको चुनावमा जिल्लाका सबै वडा कम्युनिष्टको हुने भन्दै सबै कार्यकर्तालाई चुनावमा होमिन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले प्रदेश सरकार जनताको समृद्धिका लागि दीर्घकालिन योजनाका साथ लागेको बताउनुभयो।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सबै नागरिकलाई उत्पादनमा जोड्ने गरी योजना बनाएको बताउनुभयो।
कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी ढाल प्रसाद शेरचन (ढालेन्द्र) ले आफू निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारीसहित विकासका लागि केन्द्रीय पहुँच सहित काम गर्न आफ्नो उम्मेदवार भएको भन्दै आफूलाई मत दिन मतदातालाई आह्वान गर्नुभएको थियो।