बागलुङ । गुल्मी र बागलुङ अन्तगर्तका पौंदीबासीहरुको न्वागी पर्व आज मनाइँदै छ । न्वागीको साइत यसवर्ष मंसिर १ गते बिहान ९ बजेर २९ मिनेट जाँदा परेको छ ।
बडिगाड गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आइतबार बिहान शुभ समयमा नैरित्य दिशा अर्थात् दक्षिण पश्चिममा फर्केर साइतमा न्वागी खान पौंदेलीहरुलाई आग्रह गर्नुभयो । पौंदी क्षेत्रका बासिन्दाहरुले न्वागीलाई पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान भित्र्याएपछि नयाँ चामल दहिमा भिजाएर सिलाम, केरा, चिनीलगायतबाट तयार पारिएको खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरी रैथाने जडन जातको धानको चामललाई मसलाको प्रयोग गरेर दहिमा भिजाएर खाने गरिन्छ ।
त्यस्तै इश्मा राज्य अन्तर्गत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ क्षेत्रलाई पौंदी क्षेत्र भनिने गरेको छ । यसैबीच न्वागी पर्वको अवसर पारेर पौंदीबासीहरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारासहित यसवर्ष पनि ग्वालीचौरको खार बजारमा पौंदी न्वागी मेला २०७६ को तयारी पुरा भएको छ ।
आजदेखि अर्थात् मंसिर १ गतेदेखि ६ गतेसम्म चल्ने मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगीता, खुल्ला सांस्कृतिक कार्यक्रम, खुल्ला एकल रेकर्ड नृत्य प्रतियोगिता, खुल्ला दोहोरी गीत प्रतियोगिता, महिलाहरुको म्यूजिकल चेयर रेश प्रतियोगिता, शैक्षिक प्रदर्शनी, खुल्ला वडास्तरीय पुरुष लुठो तान प्रतियोगिता, खुल्ला सरायँ नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, रमाइलो मेला, सर्कस पिङलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । यस क्षेत्रकै सर्वाधिक राशि १ लाख २ हजार २ सय २२ पुरस्कार रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता मेलाको आकर्षण रहेको छ । उपबिजेताले ६६ हजार ६ सय ६६ हात पार्नेछ । यसवर्षको मेलाको उद्घाटन बागलुङ क्षेत्र नम्बर २ का संघीय सांसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।