नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको ।माटो र पानी पहिलो धन धर्तीका छोराको ।
जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी गीत स्मरण गर्छन् । हिमाल, पहाड र तराई मिलेरै नेपाल बनेको हो । हिमाल र तराई नरहे नेपाल रहन्न । तर दुर्भाग्य हिमाल र तराई दुवै लुटिँदैछन् । हिमालको लिम्पियाधुरा र तराईको सुस्ता वर्षौं अघिदेखि भारतको लुछाइमा परेको छ । लोकतन्त्र स्थापना नहुँदासम्म त यो क्षेत्र लुछिएको जानकारी समेत शासकहरुले जनतालाई गराएका थिएनन् ।
हिजोसम्म हामी नेपाली आफ्नै अधिकारका लागि अन्तरिक संघर्षमा थियौँ । कहिले राणा परिवारले त कहिले शाह परिवारले हाम्रो मातृभूमी नेपाललाई आफ्नो वपौती ठान्दै हामी माथि निरंकुश शासन लादेको थियो । हामी नेपाली उनीहरुका रैती थियौँ । गणतन्त्र स्थापनापछि हामी रैती नभएर स्वतन्त्र नागरिक बनेका छौँ । हिजो आफ्नो देशको सीमा रक्षाका लागि उभिने अथवा बोल्ने अधिकार हामीलाई थिएन । तर आज हामी सीमा रक्षाका लागि डटेर बोलेका छौँ, उभिएका छौँ । बोलेर मात्रै हाम्रो भूमि फिर्ता हुने अवस्था छैन । भारतसँग लडाँइ गर्ने कुरा सहज छैन । यस्तो अवस्थामा हामीले गर्न सक्ने दुई वटा मात्रै विकल्प छन् । पहिलो विकल्प भनेको नेपाल–भारत खुला सीमा बन्द गरी सुरक्षाकर्मी तैनाथी गर्ने, भारतीय सेनामा रहेका नेपालीहरुलाई फिर्ता गराएर हाम्रै राष्ट्रिय सेनामा भर्ना गर्ने । दोस्रो विकल्प भनेको भारतीय उत्पादनहरु बहिस्कार गर्दै आधारभूत अवश्यकताका वस्तुहरुमा आत्मानिर्भर बन्न कोसिस गर्ने । यी दुवै विकल्पसँगै अघि बढाउन सकिन्छ । हामी नेपाली सिनेमा हेर्न छाडेर भारतीय सिनेमा हेर्छौ, नेपाली टेलिभिजन च्यानल हेर्न छाडेर भारतीय टेलिभिजन च्यानल हेर्छौँ ।
फलफुल र तरकारी किन्न जाँदा स्वदेशी उत्पादन छाडेर भारतीय उत्पादन रोज्छौँ । हामी सामान्य काम समेत आफै नगरी भारतीय मजदुर बोलाउँछौ । यसरी वार्षिक खरबौँ रुपैयाँ हामीले भारत पु¥याएका छौँ । उही कारण भारतको अर्थतन्त्र दिनानुदिन बलियो हुँदै गएको छ भने हाम्रो कमजोर हुँदै गएको छ । यो अवस्थाले अझै केही वर्ष निरन्तरता पाउने हो भने सुस्ता र कालापानीको मात्रै के कुरा सिंगो नेपाल नै सकिन्छ । त्यसैले अरु केही गर्न नसके पनि भारतीय उत्पादन बहिस्कार गरौँ । २–४ वर्ष भारतीय फिल्म नहेर्दा , भारतीय टेलिभिजन च्यानल नहेर्दा , भारतीय उत्वादनहरुको उपभोग नगर्दा हामी मर्दैनौँ, त्यतिञ्जेल स्वदेशी उत्पादनमा नेपाल आत्मानिर्भर भइसक्छ ।
हामी जस्तै साना देशहरुले कसरी आफ्नो सार्वभौमिकताको रक्षा गरेका छन् ? संयुक्त राज्य अमेरिका जस्तो महाशक्ति राष्ट्रसँग क्युवा जस्तो सानो मुलुकले कसरी सामाना गरिरहेको छ ? भन्ने पाठ हामीले अहिले पनि सिक्न सकेनौँ भने कहिल्यै पनि सिक्दैनौँ । उल्टै नेपालमा भारतीय एजेण्टहरु थपिँदै जान्छन् । सिक्किममा जस्तै भारतीय एजेण्टहरुले नै हाम्रो देश बुझाउन सक्छन् । छिमेकी मित्रराष्ट्र भारतका जनताले अंग्रेज हटाउन करिब १ सय वर्ष लामो संघर्ष गरे । कहिले सैनिक विद्रोह गरे, कहिले सशस्त्र विद्रोह गरे, तर सफल भएन । जब अंग्रेजका उत्पादन बहिस्कार गर्ने अभियान महात्मा गान्धीको नेतृत्वमा सुरु भयो तब अंग्रेजहरुले १० वर्षमै घुँडा टेके । अब हामीले सडकमा टायर बाल्ने होइन कि भारतीय उत्पादन बहिस्कार गर्नुपर्छ ।
किन नेपाल छिर्छन भारतीय अपराधीहरु ? इपिजी प्रतिवेदनमा भारतसँगको सीमा नियन्त्रण गर्ने भनिएको छ । किन प्रतिवेदन बुझ्न मानिरहेका छैनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ? यी दुईवटा प्रश्नले नै स्पष्ट गर्छ की, भारत नेपाललाई के गर्न चाहन्छ ? भन्ने कुरा ।केही महिनाअघि नेपाल भारतको खुला सिमाना बन्द गर्ने कि नगर्ने भन्ने विषयमा नेकपा नेतृ पम्पा भुसाल र नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलबीच प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा दोहोरी चलेको रोचक समाचार आयो ।
सांसद भुसालले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिनका लागि समय तोक्नुभन्दा पनि नेपाल भारतको खुला सिमाना बन्द गर्नुपर्ने जिकिर गरिन् । कांग्रेस सांसद कँडेलले बिहे गर्नेबित्तिकै भारतीय महिलालाई नेपाली नागरिकता दिनुपर्ने र नेपाल भारत सीमा बन्द गर्दा भारत रिसाउने भएकाले सम्बन्ध नराम्रो हुने दाबी गरे । त्यो दाबीलाई खण्डन गर्दै भुसालले भनिन्– ‘अब हामीले एउटा निर्णय गर्नैपर्छ, संसारमा यस्तो कुनै पनि देश छैन । त्यत्रो ठूलो देश अमेरिकामा मेक्सिकन आए भनेर राष्ट्रपति ट्रम्पले कैयौं विलियन रकम मेक्सिकोको सिमानामा बार पर्खाल लगाउने काम गरिरहेका छन् । तर हामी एकदम खुला राखेर, दुई देशका आतंककारीको, रकम तस्करीको बारेमा छलफल गर्छौँ ।
कारण चाहीँ खुला सिमाना छ । अब यो खुला सिमानालाई बन्द सिमाना बनाउनु पर्छ । हाम्रोमा ३ करोड जनसंख्या छ, उनीहरुको १ अर्ब ४० करोड । हाम्रो जनसंख्या उनीहरुको तुलनामा समुन्द्रमा १ लोटा पानी हालेजस्तो छ । उनीहरुको १ प्रतिशत मात्रै जनसंख्या यता आउने हो भने के हुन्छ ? त्यसमा पनि उनीहको सीमा सुरक्षा बलले सीमा स्तम्भ भत्काउने, सार्ने, मिच्ने, अरु डुबान कटानका कुरा त भइहाले । यो पाटो चाहीँ यही विधेयकमा पर्ने हो कि अरु विधेयकमा पर्ने हो ? मेरो मत चाहीँ सीमा बन्द हुनुपर्छ । आवतजावतलाई खुला गर्नुपर्छ, भिसा सिष्टम नगरौँ परिचय पत्रको आधारमा आवतजावत खुला हुनुपर्छ । बरु धेरै नाका बनाउन सकिन्छ । अहिले हामी कहाँ १ लाख नेपाली सेना छ, ५० हजार सशस्त्र प्रहरी छ । हामीले बोर्डर नजिक राखौँ । ठेक्का पट्टाको काम त अरु कसैलाई दिएपनि हुन्छ ।’
भुसाल सत्तारुढ पार्टी नेकपाकी माथिल्लो तहकी नेतृ हुन् । व्याक्तिगत रुपमा नेकपाका प्रायः नेताहरु भारतसँगको खुला सिमना बन्द गर्नुपर्छ भन्छन् । यही नारा अघि सारेर उनीहरुले जनताको मत पनि पाएका छन् । अहिले त दुई तिहाई बहुमतको सरकार छ, तर सरकार के गर्दैछ ? खुला सिमाना नियन्त्रणको मामिलामा ओली सरकारको धारणा के हो ? यथाशीघ्र बाहिर आउनै पर्छ । खुुला सिमाना नियन्त्रण गर्नैपर्छ ।
भारतलाई यसको महत्व बुझाएर दुवै देशका जनतालाई सुरक्षित पार्न र अवैध हतियार बम बारुदको ओसारपसार रोक्न पनि नेपााल–भारतको खुला सीमाना नियन्त्रण गर्न अब धेरै ढिला भइसकेको छ । दुवै देशका दिग्गज विज्ञहरुको संयुक्त प्रयासबाट तयार गरिएको इपिजीको सुझाव भारतीय प्रधानमन्त्रीले अहिलेसम्म नहेरेको कुुरा बाहिर आइरहेको छ । तर हाम्रो देशका प्रधानमन्त्रीले पहल लिएर भएपनि यस कार्यलाई शीघ्र अघि बढाउनु पर्छ । यसले दुवै देशको सुरक्षामा बल मिल्छ । साथै अवैध चोरी निकासी पैठारी पनि नियन्त्रण भएर राजस्व बढ्नेछ । अहिले खुला सिमानाको फाइदा लिने तस्कर अपराधी र केहि कर्मचारी होलान् तर यदि खुला सिमानालाई नियमित मात्र गर्न सकिएमा दुवै देशलाई अत्याधिक लाभ मिल्नेछ ।
रौतहट हत्याकाण्डका प्रमुुख नाइके भनिएका महम्मद आफताब आलम पनि यतिबेला थुनामा छन् । पहिलो संविधानसभाको निर्वाचनको समयमा भारतबाट बम बनाउने मानिस र एक्सप्लोसिभ ल्याई बम बनाउने कार्यमा दुुर्घटना भई केही मानिस मरेको र बाँचेकालाई पनि बेहोस बनाइ इँटाभट्टामा जिउँदै हालिएको आरोप उनीमाथि छ । यस्तो डरलाग्दो अभियोग १२ वर्षसम्म लुकाएर अहिले फेरि बल्झ्याइनु पनि आफैमा रहस्यमय छ । कसको चाहनामा लुकाइयो ? अनुमान गर्न खासै कठिन छैन । किनकी भारतको रामजन्मभूमी–बाबरी मस्जिद सम्बन्धि मुद्दाको सेरोफेरोमा यो घटना बल्झाइएको छ ।
मधेश आन्दोलनको सुरुवातमा गौर र सर्लाहीमा माओवादी समर्थक भनिएका केही पहाडी मूलका मानिसहरुको नरसंहार गरिएको थियो । यसको खासै छानबिन भएको पाइँदैन । माओवादी द्वन्द्वको अन्तिम समयतिर भएको यो घटना त्यसै सामसुम पारिएको थियो । छिमेकी मुलुकले आवश्यक ठानेमा यो घटना बल्झिन पनि सक्छ । निर्वाचनको समयमा भारतीय गुण्डा र हतियार तराईका जिल्लामा प्रयोग हुने कुरा ओपन सेक्रेट जस्तै छ । आफूले चाहेका उम्मेद्वारलाई बुथ क्याप्चर गरेर जिताउने डिजाइन तराईका जिल्लामा भारतले लामो समयदेखि रच्दै आएको छ । निर्वाचन जितेपछि सांसद तथा मन्त्री बनेर रकम असुली गर्ने प्रचलन अहिलेको व्यवस्था भइञ्जेल नियन्त्रण गर्न निकै कठिन हुुनेछ ।
उदाहरणका लागि सुस्ताको सीमा मिचेको प्रकरण त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसद हृदयेश त्रिपाठीले उच्चारण समेत गर्दैनन् । यो प्रकरण मुस्ताङबाट प्रतिनिधित्व गर्ने सांसदले उठाउने अनौठो परिदृष्य हाम्रो मुलुकमा छ । चीनले सीमा मिचेको प्रकरण तराई मधेशका जनप्रतिनिधिले उठाउने र भारतले सीमा मिचेको प्रकरण हिमाली क्षेत्रका जनप्रतिनिधिले उठाउने अवस्था सिर्जना हुनुको तात्पर्य सबैले बुझेकै हुनुपर्छ । हाम्रो राष्ट्रियताका लागि सबै भन्दा खतरनाक पाटो यही हो ।
सुस्ताको सीमा मिचेको प्रकरण त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसद हृदयेश त्रिपाठीले उच्चारण समेत गर्दैनन् । यो प्रकरण मुस्ताङबाट प्रतिनिधित्व गर्ने सांसदले उठाउने अनौठो परिदृष्य हाम्रो मुलुकमा छ ।