भगीरथ भण्डारी इलाम । इलामको जिल्ला अस्पतालमा ब्लड बैंक अर्थात् आकस्मिक रक्त संकलन तथा सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । इलाम अस्पताल र नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको सहकार्यमा अस्पतालको प्रयोगशाला भवनमा ब्लड बैङ्क सञ्चालन गरिएको हो ।
रेडक्रसका मन्त्री विजयकुमार कार्कीका अनुसार २०५४ सालदेखि नै अस्पताल र रेडक्रसको सहकार्यमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन गरिँदै आइएको भएपनि रगत राखेर सेवा दिने काम अहिलेसम्म भएको थिएन । यसअघि रगत चाहिएको बेला रक्तदाता खोजेर तत्कालका लागि आवश्यकता पूरा गरिँदै आइएको थियो । तर सोमबारबाट रगत सङ्कलन गरेर ब्लड बैंकमा राखिने र बिरामीलाई आवश्यक परेको बेला उपलब्ध गराइने गरि ब्लड बैंक सञ्चालनमा आएको हो ।
यो ब्लड बैंकमा अहिले आठ पोका रगत स्टोर गरेर राखिने र आवश्यक परे रगत खर्च भएमा अरु सङ्कलन गरी आठ पोका पुर्याएर पुनः राखिने रेडक्रसका उपसभापति तथा रेडक्रस अन्तर्गतको रक्तसञ्चार समितिका संयोजक रतनकुमार चौधरीले बताउनुभयो ।
आठ पोकामध्ये ए दुई पोका, बी दुई पोका, एबी दुई पोका र ओ दुई पोका राखिने उहाँले बताउनुभयो । ब्लड बैंक शुरु भएको पहिलो दिन नेपाली सेनाका ८ जनाले उपलब्ध गराएको रगत ब्लड बैंकमा राखिएको छ । ब्लड बैंकमा रगत राख्नका लागि एउटा फ्रिज तथा पावर ब्याकप र ब्याट्री ब्यवस्थापन गरिएको छ । संयोजक चौधरीका अनुसार ब्लड बैंक ब्यवस्थापनका लागि केन्द्रीय रक्तसञ्चार समितिको पहलमा लक्जेम्बर्गबाट १० लाख मूल्य पर्ने फ्रिज सहयोग प्राप्त भएको हो ।
त्यो बाहेक कोठा बारबेर र अन्य खर्चका लागि इलाम बजारमा दशैँ तिहारमा खेलाइने बिङ्गो खेलको आम्दानीबाट बिङ्गो सञ्चालक संस्थाहरु नगर खेलकुद विकास प्रतिष्ठान, रेडहर्ष फुटबल क्लब र इलामका सहयोगी हातहरुबाट ३० हजार प्राप्त भएको छ भने, निर्माण ब्यवसायी डम्बर खड्काबाट २५ हजार, दुर्गा उप्रेतीबाट ११ हजार तथा दिलिप पौडेल र संयोजक चौधरीबाट पाँच/पाँचहजार नगद सहयोग प्राप्त भएको छ ।
इलाममा यसअघि रेडक्रसकै पहलमा नारायणस्थानमा ब्लड बैंक भवन निर्माण गरिएको छ । २८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमा ब्लड बैंककै लागि जर्मन राजदूताबासको ३५ लाख रुपैयाँ बराबरको उपकरण सहयोग प्राप्त भएको थियो । तर उक्त भवनमा अहिलेसम्म ब्लड बैंक सञ्चालन गर्न सकिएको छैन । त्यो भवनबाट ब्लड बैंक सञ्चालन सम्भव नहुने भएर नै अस्पतालमा थालिएको पनि संयोजक चौधरीको आशय थियो ।
अस्पतालमा थालिएको ब्लड बैङ्क सञ्चालनका लागि इलाम अस्पतालको प्राविधिक सहयोग रहनेछ ।