काठमाडौँ । बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शुभ लभ’ यही नोभेम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने भएको छ । आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभर चलचित्रलाई युरोपमा प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जनाए ।
नेपालमा मध्यम व्यापार गरेको उक्त चलचित्रको युरोप प्रदर्शन राम्रो हुने लोहनीको विश्वास छ । युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पुराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ ।
त्यस्तै स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि यही चलचित्रमार्फत पहिलोपटक अभिनय शुरु गरेका हुन् । चलचित्रमा डा. सूर्या थापालाई सह–नायिकाको भूमिकामा देख्न सकिनेछ ।
चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, ब्याकग्राउण्ड म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको थियो । चलचित्रको युरोप टुरसँगै नेपालको भिजिट नेपाल–२०२० को प्रचारप्रसार गर्नेपनि आफूहरुको उद्देश्य रहेको लोहनीले बताए ।
लोहनी यही नोभेम्बर २७ तारिख युरोप टुरमा जाँदैछन् । युरोप टुर सकिएलगत्तै अष्ट्रेलिया, कोरिया, जापान, हङकङ र गल्फ राष्ट्रमा जाने तयारी रहेको लोहनीले जनाए ।