बसन्त लिम्बू ताप्लेजुङ । हावा भरेर चलाउन मिल्ने डुङ्गा (राफ्ट) प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक साहसिक खेल हो र्याफ्टिङ । यही साहसिक खेलका लागि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभान राम्रो गन्तव्य बन्दै गएको छ ।
पछिल्लो समय जापान, स्पेन, फ्रान्स, ईटालीका नागरिकले तमोर दोभानबाट र्याफ्टिङ शुरु गरेका छन् । र्याफ्टिङको सिजन शुरु भएसँगै यस नदीमा विभिन्न कम्पनीले करिव ५० जना विदेशीलाई र्याफ्टिङ गराएका छन् । दोभानबाट शुरु भएको जलयात्रा कावेली दोभान, माझीटार, मूलघाट हुँदै ५ दिनमा चतारा पुगेर सकिन्छ । यस जलयात्रा रुटलाई निकै साहसिक रुट मानिन्छ ।
नेपालका र्याफ्टिङ गर्न मिल्ने १६ नदीमध्ये यो नदी निकै अप्ठ्यारो छ । नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये तमोर, कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुणलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ ।
विदेशीहरू जोखिमपूर्ण क्षेत्रमा र्याफ्टिङ गर्न रुचाउने र्याफ्टिङ स्टार कम्पनीका र्याफ्टिङ गाईड सुरेश कुमार चौधरी बताउँछन् ।
र्याफ्टिङ कम्पनीहरुले प्रतिव्यक्ति १२ सय डलर (करिव १ लाख ३८ हजार रुपैयाँ) मा यस नदीमा र्याफ्टिङ गराउँछन् । र्याफ्टिङका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्ने सम्भावना भएको यहाँ प्रचारको नै अभाव भएको उनको बुझाई छ ।
विदेशी पर्यटकहरु जलयात्राका लागि ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तथा गुराँसको राजधानी तिनजुरे, मिल्के, जलजले हुँदै पदयात्रा मार्फत तमोर दोभान आउने गरेका छन् । पदयात्राका क्रममा विभिन्न हिमश्रृङ्खला, हिमाली घाँसे मैदान लगायतको समेतदृश्यावलोकन गर्न सकिने भएकाले तमोरमा र्याफ्टिङका लागि विदेशी आउने गरेको पर्यटन व्यावसायी बताउँछन् ।