कौरब खत्रीगुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा हाम्रो समाजमा अझै विद्यमान छ । अपांगता भएका व्यक्तिलाई अवहेलनाको दृष्टिकोणले समेत हेर्ने गरिन्छ । त्यस्ता केही व्यक्तिमा सीप र जाँगर हुँदाहुँदै पनि उचित कदर नहुँदा निराश बन्नुपर्ने अवस्था छ ।
जिल्लामा एक अपाङ्ग तर सीप भएका व्यक्तिको अवस्था पनि यस्तै निराशाजनक छ । गुल्मी दरबार गाँउपालिका -२ हुल्टुङका ४७ वर्षीय धन बहादुर राकस्कोटीका दुईवटै खुट्टा चल्दैनन् तर पनि उहाँको चाल भने रोकिएको छैन । शारीरिक रुपमा कमजोर भएपनि उहाँको मनोबल निकै उच्च छ । सामान्य घरायसी कामदेखि बाहिर मेलापातसम्म घर्सेर हातको सहाराले पुग्ने राकस्कोटी अपाङ्ग भएर पनि काममा जोश र जाँगरका साथ निरन्तर क्रियाशील छन् । तर राकस्कोटीको सीप र क्षमताले भने समाजमा उचित मुल्याङ्कन तथा कदर पाउन सकेको छैन् । भन्छन, ‘अपांग छु, सीप छ तर कदर छैन ।’
अपाङ्गता भएर पनि राकस्कोटी आफ्नै सीप र क्षमताले घरमै बसीबसी प्रायः सबै प्रकारका कामहरु गर्दै आउनुभएको छ । तर आफूले उत्पादन गरेका वस्तुले बजार नपाउँदा भने राकस्कोटी निराश छन् ।
बाँसका विभिन्न प्रकारका सामग्री बनाउने र बेच्ने गर्दै आउनुभएका राकस्कोटीले आफ्नै सीप र मेहनतमा कमाइ खान सक्षम हुँदाहुँदै पनि उचित बजार व्यवस्थापन नहुँदा अरुको सहारामा बाँच्नुपर्ने बाध्यता रहेको चन्द्रकोट गाँउपालिका - ८ का वडासदस्य रनु श्रीसको भनाइ छ ।
यद्दपी राकस्कोटीको दरिलो आत्मविश्वास र कामप्रतिको निरन्तरको लगाव भने जारी नै छ । ‘थोरै पैसा कमाउन पनि मानिसहरु विदेश गएको देख्दा मेरो मन अमिलो हुन्छ ’ धनबहादुरले भने ।
धनबहादुरजस्ता व्यक्तिलाई हौसलाको खाँचो रहेको जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेत बताउनुहुन्छ । बस्नेत भन्नुहुन्छ, ‘अपाङ्गता भएपनि सीप र क्षमताले आफ्नै कमाइमा रमाएका धनबहादुर सबैका लागि प्रेरणाको पात्र हुन्।’