प्रकाश न्यौपानेरुपन्देही । भैरहवामा जारी पाँचौ लुम्बिनी महोत्सवमा पर्यटन क्षेत्रलाई विशेष महत्व दिइएको छ । भ्रमण वर्ष २०२० लाई महोत्सवले टेवा पुर्याउने लक्ष्य लिइएको छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिरको रिप्लिका सिंगारेर दुरुस्तै आकृतिमा बनाइएको छ। मन्दिरको छेउमै सेल्फी जोनसहितको बगैँचा छ । मन्दिरको पश्चिमपट्टी नेपाल भ्रमण वर्षको लोगो राखिएको छ । नजिकै ‘लव’ चिन्हको अर्को आकृति बनाइएको छ । दुबै मन्दिरमा सेल्फी खिच्न दर्शकको भीड लाग्ने गरेको छ । मन्दिरमा कृत्रिम दुबो विछ्याइएको छ । दुबोमाथि बुद्धमूर्ति पनि छ । वरिपरी हरियो विरुवा राखिएको छ जसले दर्शकलाई मोहित बनाएको छ । मन्दिरको भित्रभागमा मुलुकलाई चिनाउने मुख्य १५ पर्यटकीय गन्तव्यको चिनारी पनि राखिएको छ । दुरुस्तै हिमालजस्तै आकृति देख्न पाउँदा दर्शक निकै खुशी छन् ।
पर्यटन विकासमा टेवा पुर्याउने भन्दै आयोजकले महोत्सवस्थलमा मायादेवी मन्दिर बनाएर त्यसभित्र मुगुमा रहेको रारा ताल, माछापुच्छ्रेहिमाल, अन्नपूर्ण बेसक्याम्प, गुल्मीमा रहेको विचित्र गुफा, लुम्बिनीस्थित विश्व शान्ति स्तुप, बुद्धको मावली क्षेत्र देवदह, रेसुंगा क्षेत्र, स्वर्गद्वारी, सौराहा, मार्दी हिमाल, मुस्ताङ हिमाल (अपर मुस्ताङ), रानीमहल, सगरमाथा, देवदहमा रहेको पाकडी वृक्ष, सुपादेउराली मन्दिरको आकृति राखेका छन् ।
मुलुकका अधिकांश महत्वपूर्ण पर्यटकीयस्थलको आकृति बनाइ महोत्सवमा राखिएकाले यसले हिमाल, पहाड र तराईबीचको सद्भावलाई कायम राख्ने अपेक्षा गरिएको छ ।