सरु, मैले तिमीलाई देखेकी त छैन तर उसले तिम्रो कुरा मसँग यति गरेको छ कि लाग्छ, हजारौँ मानिसको भीडमा तिमीलाई पछाडिबाट देखेँ भने पनि अब त म चिन्छु हाेला ।
अविरल अर्थात तिम्रो पूर्वप्रेमी, जो तिम्रो कुरा गरेर कहिल्यै थाक्दैन । उसले तिम्रो कुरा गरिरहँदा म ऊ के बोल्दै छ भन्दा पनि कसरी बोल्दैछ भन्नेमा बढी ध्यान दिन्थें।
तिमीलाई थाहा छ सरु ? अविरलले तिम्रो बारेमा कुरा गरिरहँदा उसको अनुहारका प्रत्येक अंगहरुकाे चाल बेग्लै हुन्थ्याे । ऊ बोलिरहँदा उसका आँखाका नानी तेजिला बन्दै जान्थे । ओठमा मुस्कान भरिँदै जान्थ्यो । अनुहारमा छुट्टै चमक मुखरित हुन्थ्याे । तर त्यो चमकमा केही क्षणमै कालो बादल छाउँथ्यो, जब आफ्नो जीवनमा अब त तिमी छैनौं भन्ने कुरा फेरि एकपटक उसले सम्झना गर्थ्याे ।
तिमीले अविरलसँग बिताएका धेरै पलहरु बिर्सियौ हाैला, उसले तिमीहरु दुवैको बारेमा मलाई सुनाएका कुराहरु अविरलले पनि बिर्सियो होला । तर मलाई उसले सुनाएका प्रत्येक कुराहरु एक-एक याद छन् । धेरै मिठाे थियाे है ? तिमीहरुको विगत । त्यही तिमीहरुको विगतलाई सम्झिएर मैले भने एउटा प्रेम कहानी लेख्ने प्रयास गरेकी थिएँ तर बीचैमा छोडिदिएँ । लेख्नै मन लागेन । सायद त्यस बेलासम्ममा तिम्रो पूर्वप्रेमी मलाई नै थाह नभई मेरो वर्तमान प्रेमी बनिसकेको थियो ।
सरु, यो प्रेम भन्ने चीज यस्तै रहेछ। तिम्रै कुरा उसको मुखबाट सुन्दासुन्दै उसैसँग प्रेममा परेकी म, आजभोलि अविरलको मुखबाट कहिलेकाहीँ मात्र तिम्रो कुरा सुन्दा पनि मन सम्हाल्नै नसक्ने भएकी छुँ ।
अविरलले तिमीलाई अझै पनि औधी माया गर्छ भन्ने कुरा उसकै व्यवहारबाट थाहा हुँदाहुँदै पनि उसैसँग प्रेममा परेकी मलाई आजभोलि अविरलको जीवनमा म बाहेक पनि अरु कोही थियो भन्ने कुरा सम्झदा मात्र पनि मुटु फुट्ला झैँ हुने गर्छ।
अझ अविरलले झुक्किएर भएपनि मलाई तिम्रो नामले बोलाउँदा, तिम्रो यादले उ टोलाउँदा र तिमीले दिएको धोका स्मरणमा आउँदा म पनि उसकाे शंकामा पर्दी हुँ । त्याे बखत मलाइ कस्ताे हुँदाे हो ? त्यो त तिमी अनुमान गर्न सक्छौ नि है !
सँधै तिमीलाई चकलेट लिएर आउने अविरल आजभोलि मैले दिएको चकलेट पनि समाउँदैन । खोलाको किनारमा तिमीसँगै बसेर खोलाभित्र डुबाएका दुई जोडी गोडाको प्रेमलिला हेर्दै रमाउने ऊ, मसँग खोला किनार जाँदा मात्रै पनि खोला देखेरै डराएझैँ गर्छ ।
तिमीसँगै मन्दिर गएर अनेक वाचा कसम खाने ऊ मसँग मन्दिरको गेटसम्म मात्र पुग्छ । मन्दिरभित्र पसेर भगवानसँग कसम त म एक्लै खान्छु सदा उसको खुशीकै लागि !
उसले तिमीसँग सँधै भेटेर चिया पिउने पुतलिसडकको त्यो चिया पसलको तिमी बस्ने कुर्सीमा बस्नुकाे मेराे अनाैठाे अनुभव सुन्छाै ? विचरा त्याे निर्जिव कुर्सीले अविरलसँग मेरो परिचय माग्दा उसका आँखाले आँसुका ढिक्का खसाल्नु बाहेक अरु कुनै जवाफ दिन सक्दैनन् ।
तिमीसँग खुब मीठा -मीठा गफ गर्दै हिँड्ने ती बागबजारका गल्लीमा हामी दुई हिंड्दा भने मौनता बाहेक म अरु केही पाउन सक्दिन् ।
सरु, यी सब म तिमीलाई यसकारण भनिरहेकी छु की, अझै पनि उसको प्राथमिकतामा तिमी छौ । मन्दिरमा तिमी छौ । खोलामा तिमी छौ ।चकलेटमा तिमी छौ । चिया पसलको कुर्सीमा तिमी छौ र ती गल्लीहरुमा तिमी छौ । हो सरु, उसको नजरमा तिमी छौ, उसका यादहरूमा अझै पनि तिमी पाैडिरहेकी छौ ।
सरु, तिमी आँफै भन न, तिमीलाई माया दिएर रित्तिएको अविरलको मुटु, तिम्रो यादले भरिएको उसको मन, र याे औपचारिक रुपमा देखावटी गरिएको मुस्कान तथा उसको त्यो भौतिक शरीरको उपस्थितिलाई मात्र म कति दिन प्रेम भन्ठानेर बसौँ ?
अविरलले तिमीसँग मायाका धेरै पलहरू व्यतित गर्याे होला तर उ मेरो पहिलो प्रेम, जसलाई मैले खुलेर चाहेजति प्रेम दिन पनि सकेकी छैन र पाउन पनि । सरु, मलाई थाहा छ मैले दुई-चार महिना गरेको प्रेमले त मलाई यति पिरोलेको छ भने वर्षौँदेखिको प्रेम टुटाएर तिमी पक्कै पनि सहज बाँचिरहेकी छैनौ।
सरु सक्छौ ? सक्छाै भने तिमीसँगै तिम्रा यी यादहरुलाई पनि सँगै लिएर जाउ । ताकि, म ढुक्क भएर मैले चाहेजति माया उसलाई दिन सकुँ र अविरलबाट पाउनेजति माया पाउँ पनि । यदि सक्दैनौ भने, तिमीलाई पनि उसलाई जतिकै गाह्रो भएको छ भने, किन यादहरु मात्र पठाउँछौ अविरललाई ? यादसँगै तिमी पनि आउ उसको मनले अझै पनि तिमीलाई स्वीकार्छ, म सजिलै बाटो छोडौँला । तिमीले शुरु गरेको यो प्रेमको यात्रालाई केवल तिमीले नै गन्तव्यसम्म पुर्याउन सक्छौ।