फाइल तस्बिर
झापा । पछिल्लो समय झापाका विभिन्न क्षेत्र जुवा खालको रुपमा विकसित हुँदै गएको छ । गत कात्तिक महिनामा मात्र जिल्ला प्रहरी कार्यालय झापाले १७ जुवाडे पक्राउ गरी मुद्दा चलाए पनि जुवा खेल्ने क्रम रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएस्पी महेन्द्रकुमार श्रेष्ठले झापा प्रहरी जुवा नियन्त्रण अभियानमा नै रहेको बताउनुभयो । श्रेष्ठका अनुसार गत महिना १७ जना जुवाडे भद्रपुरबाट २ लाख ६३ हजार रुपैयाँसहित पक्राउ परेका थिए।
प्रहरीका केही व्यक्तिलाई प्रभावमा पारेर झापाको विर्तामोड, धाइजन, भद्रपुर, धुलावारी, अर्नुधारा र मोरङको पूर्वमंगलबारे, उर्लाबारी, पथरी, अमरदह क्षेत्रमा दैनिक जुवाको खाल चल्ने गरेको स्रोतले बताएको छ । प्रहरीको आँखा छल्न जुवाडेले दैनिक स्थान परिवर्तन गरेर खेल्ने गरेका छन् ।
झापा र मोरङका जुवाडेहरु भेला भएर दैनिक करोडौ रुपैयाँको खेल खेल्ने स्रोतले जानकारी दिएको छ ।
एक जुवाडेले नाम गोप्य राख्ने सर्तमा भने ‘प्रहरीलाई सेटिङ मिलाएका छौँ, कहिले कहीँ सेटिङ नमिल्दा फुलबडी ट्रकमा पाल टाँगेर भित्रै खेल्दै कोशी व्यारेजसम्म पुगेर फर्कन्छौ ।’ उनका अनुसार झापा र मोरङको कुनै एक ठाउँमा दैनिक खेल हुन्छ । कहाँ खेल्ने भन्ने कुरा त्यही दिनमात्र फोनबाट फिक्स गरेर भेला हुने गरेको उनको भनाइ छ ।