काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय राजधानी काठमाडौंका विभिन्न मन्त्रालयका विभागीय मन्त्री र सचिवसँग भेटघाट गरी सुदूरपश्चिम प्रदेशको विकासको योजनाबारेको छलफललाई तीव्रता दिनुभएको छ ।
सुदूरपश्चिम प्राकृतिक सुन्दरताले धनि प्रदेश भएकाले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मन्त्री बोहराले भेटघाटलाई तीव्रता दिनुभएको हो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी प्रदेशको समग्र पर्यटनस्थितिबारे जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेका खप्तड, डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, अछामको रामारोशन, अछामकै बैजनाथ, डोटीको बडिकेदारलगायतका धार्मिकस्थलको प्रचारप्रसार र संरक्षणमा प्रदेश सरकार जुटेको भन्दै मन्त्री बोहराले पर्यटनमन्त्री भट्टराईलाई संघ सरकारबाट थप कार्यक्रम बिस्तार गरिदिन आग्रह समेत गर्नुभयो ।
भ्रमण वर्ष नजिकिँदै जाँदा यी सम्पदाले सुदूरपश्चिमको चिनारी र आर्थिक समृद्धिमा टेवा पुर्याउने मन्त्री बोहराको धारणा छ । मन्त्री बोहराले काठमाडौंमा विभिन्न हिंसामा परी दुखित जीवन बिताइरहेकाहरुलाई सहयोग पनि गर्नुभएको छ ।
मन्त्री बोहराले २०६८ सालमा बैतडीमा एसएलसी दिन जाने क्रममा बलात्कारमा परेकी पूजा बोहरालाई सहयोग गर्नुभएको छ । पीडित १५ वर्षीया बोहरालाई भेटी उहाँले सफल भविष्यको कामना पनि गर्नुभयो । काठमाडौंमा दुःखको जीवन व्यतित गर्दै आएकी बोहराको स्वास्थ्य स्थितिको बारे उहाँले जानकारी लिनुभयो ।