शिव बोहोरा बागलुङ । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीकासहित ‘स्वागत छ हजुरलाई हाम्रो तोरीखोलामा’ भन्दै भिजन गाउँदा गाउँ नै संगितमय बन्यो । कलाकार, पत्रकारलगायतका पाहुनाहरु न्यानो स्वागत स्वीकार्दै तोरीखोला छिरे । तोरीखोला गाउँका स्थानीय बेग्लै सुरसारमा थिए ।
बागलुङको गलकोट नगरपालिका २ नरेठाँटी त्यो दिन गीत गाउँदै आधारात जागराम बस्यो । स्थानीय महिला समूहले गाएको ‘घुम्टे साइँला’ गीतमा उपस्थितहरु झुम्मिएरै नाचे । सामुदायिक भवनमा सत्कारसहित ‘सगुन’ खुवाउने कार्यक्रमपछि पाहुनालाई घरबासमा बाँडियो ।
तोरीखोलाका पाँच घरमा घरबास सेवा छ । एक रातमा कम्तीमा २५ जना पाहुनाको क्षमता छ । गत महिनादेखि व्यवस्थित रुपमा घरबास शुरु गरिएको हो । कलाकारसहितका पाहुना आउने भएपछि गाउँलेले गत बुधबार विशेष तयारी गरेका थिए । स्वागतद्वार र रंगीचंगी ध्वजापताकाले गाउँ नै सजाइयो। सोही अवसरमा इन्द्रेणी समूहले मौलिक दोहोरीगीतको छायांकनसमेत गर्यो । लोकदोहोरीमा स्थानीयले नाचे र गाएर साथ दिए ।
घरबासको प्रवर्द्धनका लागि सञ्चालक समिति र वडा कार्यालयले छायांकनको तारताम्य मिलाएका थिए । घरबासबाट गाउँलाई चिनाउने योजना रहेको सञ्चालक समितिका अध्यक्ष कुमार घर्तीमगरले जानकारी दिए। ‘पर्यटकलाई हाम्रो मौलिकपन र पहिचानमा रमाउने वातावरण बनाउँदैछौं’, घर्तीमगरले भने । थप १० घरमा घरबास सञ्चालनको योजना रहेको उनको भनाई छ ।
कुल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ । प्रत्येक दिन बेग्लाबेग्लै खानाका परिकार बन्ने घरबास सञ्चालक सीता पुनले बताइन् । उनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको १२ सय रुपैयाँ तिर्नुपर्छ । पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ ।
खानामा मकैको आटो, कोदोको ढिँडो, रोटीजस्ता परिकार बन्छन् । गाउँमै उत्पादित माछामासु, तरकारी, गेडागुडी, आलु आदि उपलब्ध गराइने घरबास सञ्चालकको भनाई छ । तोरीखोलामा घरबासँगै ‘नमूना बस्ती’ योजना पनि सञ्चालन गरिएको छ । गलकोट नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट नमूना बस्तीका लागि छुट्ट्याइएको छ । उक्त योजनाबाट पदमार्ग, सडक, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा काम भइरहेको छ ।
वडाध्यक्ष हिमबहादुर भण्डारी भन्छन्, ‘यो वर्ष नाली निर्माण गरी गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउँदैछौं, गाउँलाई नमूना बस्ती बनाउने नगरको क्रमिक योजनामा छ ।’